सरकारले बुधबार १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेपछि यतिखेर धनकुटामा चर्को नाराबाजीका साथै विरोध प्रदर्शन भइरहेकाे छ । विराटनगरलाई राजधानी तोकेपछि बिहीबार विरोधमा उत्रिएका धनकुटाबासी र प्रहरीबीच धनकुटा ६ भीमनारायण चोकमा दोहोरो झडप समेत भएको छ । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाइते भएका छन् । धनकुटाका नेपाली कांग्रेस पार्टी सचिव दिनेश राईको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भएको हो ।

आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार आगजनीबाट कार्यालयको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रदर्शनकारीहरुले आक्रोशमा उत्रिएर क्षेत्रीय प्रशासन कार्यलय र शहरी विकाश तथा भवन निर्माण डिभिजन विभाग कार्यलयमा तोडफोड गरेका हुन् । उनीहरुले श्रमिक दलित हकहित मोरङद्वारा सञ्चालित को २ च ४३२ नम्बरको भोजपुर तर्फ बिरामी लिन जाँदै गरेको एम्बुलेन्स समेत तोडफोड गरेका छन् । त्यस्तै को १ ब १०६४ नम्बरको मोटरसाईकल समेत पूर्ण रुपमा तोडफोड गरेकाे धनकुटाका संचारकर्मी सन्ताेष रुचालले जानकारी दिए ।

प्रदर्शनकारी उग्र रुपमा आन्दोलनमा उत्रिएपछि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् । धनकुटाको जिरो पोइन्ट, सल्लेरी, क्षेत्रीय प्रशासन कार्यलय, बिहीबारे हट्या, सिरुवानी लगायतको क्षेत्रमा निषेधाज्ञा जारी गरेको उनले बताए ।धनकुटालाई अस्थायी राजधानी बनाउनुपर्ने माग राख्दै धनकुटाबासी केही दिनदेखि आन्दोलनरत थिए ।

 वीरगञ्जमा  पनि सल्कियो आगो

 

यता प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै बिहीबारदेखि वीरगञ्ज बन्दको आह्वान गरिएको छ । बन्दका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ ।

सरकारले बुधबार अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा आज वीरगञ्ज बन्द गरिएको हो । जनकपुरलाई प्रदेशका अस्थायी राजधानी तोकेपछि वीरगञ्जमा असन्तुष्टी बढेको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिको आह्वानमा बन्द घोषणा गरिएको हो ।

एम्बुलेन्स, दमकल अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण पसल बजार सबै ठप्प पारिएको संघर्ष समितिले जनाएको छ । बन्दका कारण बिहानै देखि सडक अवरुद्ध गरिएको छ, भने ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । मोटरसाईकल, ईरिक्सा भने निर्वाद रुपमा चलेका छन् ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा वीरगञ्जको घण्टाघर, माईस्थान मुर्ली, लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुको साथै सवारी साधन, बजार पसल, शैक्षिक संस्था, कलकारखना ठप्प पारिएको छ ।