• बद्री अर्याल

बेलबारी / मोरङको बेलबारी नगरपालिकाको प्रथम अधिवेशनबाट चालु आर्थिक वर्ष २०७४/७५ का लागी कुल ६६ करोड ४ लाख २ हजार २ सय २ रुपैँया ९२ पैसाको बजेट प्रस्तुत गरेको छ ।
शनिबार नगरपालिकाको प्रथम नगरअधिवेशनमा उपप्रमुख ढाकाकुमारी पराजुलीले प्रस्तावित बजेट र कार्ययोजना प्रस्तुत गरेकी छिन । कुल बिनियोजन मध्ये चालुखर्च तर्फ ४० करोड ८१ लख ६ हजार ३ सय ४ रुपैया ५९ पैसा र पुँजीगत तर्फ २५ करोड २३ लाख ७५ हजार ९ सय २४ रुपैँया ३३ पैसा रहेको छ । चालुखर्च तर्फ प्रशासनिक खर्च ७ करोड ४३ लाख ७२ हजार ३ सय ८७ रुपैँया र कार्यक्रम खर्चतर्फ ३३ करोड ३७ लाख ३३ हजार ९ सय १७ रुपैया रहेको छ ।
कुल बजेटको खुद प्रशासनिक खर्च ११।२६ प्रतिशत, कार्यक्रम खर्च ५०।५३ प्रतिशत र पुजिँगत खर्चतर्फ ३८।२१ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।
नगरपालिकाभित्र रहेका ११ वटा वडाहरुमा प्रत्येक वडामा ७५ लाख सिलिङ बजेट र ५ लाख प्रशासनिक खर्च गरी ८० लाखका दरले बजेट बिनियोजन गरिएको छ । नगरपालिकाले भौतिक निर्माणलाई प्राथमिकता दिएको छ भने सडक ममर्त, कालोपत्रे गर्ने तथा ग्राभेल गर्ने गरी पनि बजेट छुट्याईएको छ । त्यसैगरी भौतिक पूर्वाधार विकासमा ५६ लाख ७५ हजार छुटयाईएको छ भने नगरपालिकाका सबै विद्यालयहरुमा अनिवार्य अंग्रेजी पढाउने गरी निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालका अनुसार यो बजेट मार्फत हरेक वडामा ८० लाख छुटयाईएको छ जसमा ७५ लाख विकास बजेट छुट्याइएको छ भने ५ लाख प्रशासनिक बजेट छुटयाईएको छ । ११ वडा रहेको बेलबारीलाई हरित नगरी नगरपालिकाको रुपमा विकास गरिने प्रमुख लक्ष्य रहेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।