विराटनगर / बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् ।  मनसुन सुरु भएयता प्रदेश १ मा पहिरोले घर पुरिँदा तथा क्षति हुँदा २४ परिवार विस्थापित भएका छन् । पहिरोले तीन दर्जनभन्दा बढी परिवारको करोडौँको क्षति भएको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेकी रिना गुरुङको घर पहिरोले बगाएको छ । घर बगाउँदा पाँचजनाको परिवार विस्थापित भएको छ । यसअघि बिहीबार राति सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका–३ का पूर्णबहादुर दमाईंको घर पहिरोले बगाएको छ । घर बगाउँदा उनको परिवार पनि विस्थापित भएको छ । त्यस्तै, २२ असारमा थुलुङ दूधकोसी गाउँपालिका–३ थामडाँडाका युवराज काफ्ले, माप्य दूधकोसी–४ का हस्तबहादुर राई, रामबहादुर राई, विष्णुबहादुर राई, प्रदीप राईलगायत घरमा पहिरोले क्षति पुगेको थियो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार गत फागुनयता खोला तथा नदीमा बगेर तथा डुबेर ४५ जनाको मृत्यु भएको छ । जसमा सात बालिका छन् । मोरङमा १४, सुनसरीमा पाँच, झापा, इलाम, ताप्लेजुङमा चार–चार, भोजपुर र उदयपुरमा तीन–तीन, पाँचथर, शंखुवासभा र खोटाङमा दुई–दुई तथा तेह्रथुम र धनकुटामा एक–एकजनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । नयाँ पत्रिका