धरान /  नेकपा एमालेका सचिवका सचिव भीम आचार्यले बाम गठबन्धन टुटाउन विभिन्न षडयन्त्रका साथ केही देशी विदेशी शक्ति लागेको बताएका छन् । नेकपा एमाले सुनसरी जिल्ला कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी सुनसरीको व्यवस्थापनमा सुनसरीका नव निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्य एवं स्थानीय तहका मेयर, उपमेयरको सम्मानका लागि बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पाँच वर्ष वामपन्थीहरुको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्तिहरु दैनिक गठबन्धन टुटाउन सक्रिय भइरहेका छन् तर हामी सबै चलखेललाई परास्त गरेर एकता टुट्न दिँदैनौं, गठबन्धनबीचको एकता कसैले रोक्न सक्दैैन ।’
निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा बताउँदै नेता आचार्यले भने, ‘छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशङ्का गर्न आवश्यक नै छैन ।’ अब ५ वर्षसम्म वामपन्थीहरुको बहुमतको स्थिर सरकार बन्ने र वामपन्थीको मिलनबाट मात्रै मुलुकको समृद्धि र दिगो सरकार निर्माण हुने देखेरै काङ्ग्रेस र केही विदेशी शक्ति छटपटाएर नयाँ सरकार निर्माणमा आलटाल गरिरहेकाको उनको भनाइ थियो । ‘वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत हो ।’ उनले थपे । अनावश्यक भ्रम फैलाएर बदनाम गराउन खोज्ने तत्व सक्रियपूर्वक लागेको हुँदा त्यसप्रति सजग रहन उनले कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै केन्द्रीय जगदीश कुसियतले काङ्ग्रेसले सत्ता लम्ब्याउन अनेकौं जालझेल गर्दै अघि बढेको बताउँदै लोकतन्त्रमा यसो हुनु नराम्रो भएको बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी संयोजक रमेश बस्नेतले सुनसरीलाई राजधानी बनाउन सबैको एकमत हुनुपर्ने धारणा राखे । ‘इटहरी, धरान वा इनरुवा जहाँसुकै राजधानी भएपनि हुन्छ भनेर सबै यो अभियानमा लागे सार्थकता पाउँछ ।’ उनले भने । सुनसरी १ का प्रतिनिधिसभा सदस्य जयकुमार राईले सुनसरी १ को विकास, निर्माण र आर्थिक समृद्धिका लागि घोषणापत्र अनुसार नै अघि बढ्ने प्रतिबद्धता जनाए ।
सुनसरीका जनप्रतिनिधिहरुलाई सम्मान
कार्यक्रममा सुनसरी १ का प्रतिनीधि सभा सदस्य जयकुमार राई, प्रदेश सभासदस्य प्रदीप भण्डारी, भीम आचार्य, जगदिस कुसियत, सर्वध्यवज साँवा, बराह नगरपालिकाका मेयर निलम खनाल, उपमेयर कमला मगर, इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौमत, रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरीलगयतलाई सम्मान गरिएको थियो । प्रचार विभाग प्रमुख डवलकुमारी चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बराह नगरपालिकाका मेयर निलम खनाल, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, सुनसरी २ का प्रदेशसभा सदस्य सर्वध्वज साँवा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईलगायतले बोलेका थिए । कार्यक्रमको स्वागत प्रेस चौतारी सुनसरी अध्यक्ष देबेन्द्र कार्कीले गरेको थिए भने कार्यक्रमको संचालन विकास राईले गरे ।