विराटनगर /  विराटनगरमा उपचार गराइरहेका सात नेपाली र एकजना भारतीय   कोरोना संक्रमित निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारको कोसी कोभिड– १९ अस्पतालले तीनपटकसम्म परीक्षण गर्दा सबैपटक नेगेटिभ पाइएपछि  सात नेपाली र एकजना भारतीय  आज डिस्चार्ज भएका हुन् । 

आज डिस्चार्ज हुने नेपालीहरूमा एक महिलासहित पाँचजना उदयपुर र दुईजना विराटनगरका छन् । एकजना भारत उत्तरप्रदेशका हुन् । उनीहरू सबैलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, कोभिड अस्पताका चिकित्सक र स्वास्थ्यकर्मीले बिदाइ गरेका छन् ।  

२४ वैशाखमा उपचाररत ६ जना भारतीयमा संक्रमणको कुनै लक्षण नभेटेपछि डिस्चार्ज भएका थिए । उनीहरू सबैलाई थप १४ दिन क्वारेन्टाइमा राखिने अस्पताल प्रमुख डा. संगीता मिश्राले बताइन् । 

प्रदेश १ को कोभिड अस्पतालमा जम्मा ३१ जना संक्रमित उपचारका लागि भर्ना भएका थिए । जसमध्ये १४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । उपचाररत रहेकाहरूको अवस्था पनि सामान्य छ ।