• शिवप्रसाद आचार्य

सप्तरी / लकडाउनको समयमा एम्बुलेन्स रिजर्व गरेर श्रीमति भेट्न जाने एक कम्प्युटर इन्जीनियर सप्तरीको सप्तकोशी नगरपालिकाबाट समातिएका छन् । गत बुधबार बेलुका नक्कली बिरामी बनेर राजबिराज २ का ४० बर्षीय राजेश मिश्र उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित हडियाको स्वास्थ्य चौकीमा कार्यरत श्रीमति भेट्न जादैं गर्दा स्थानीय युवाहरुको पहलमा समातिएका हुन ।
उनी रक्सीले मातेर राम्रो बोल्न सक्ने आवस्थामा भेटिएका थिए । श्रीमतिलाई भेट्न जान कुनै उपाय नलागे पछि उनले राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट विमारी डिस्चार्ज पेपर पनि बनाएको पाइएको छ । २ गते अस्पताल भर्ना भएर ३ गते डिस्जार्च भएको पेपर उनले बोकेका थिए । तर सो दिन राजेश मिश्र भन्ने व्यक्ति कोही डिस्जार्च नभएको अस्पतालले जनाउको छ ।
उनले राजबिराजस्थित बिपी बिचार समाजको स १ च ११२२ नम्बरको एम्बुलेन्स दुरुपयोग गरेका थिए ।

राजविराजदेखि हडियासम्मको बाटोमा प्रहरी प्रशासन लगाएतको आँखा छल्दै सप्तकोसी नगरपालिका प्रबेश गर्ने वितिकै उनी त्यहाँका स्थानीय युवाहरुको फन्दामा परेका थिए । युवाहरुले चेकजाँच गर्दा उनी रक्सीले टिल्ल भएको पाए पछि उनीबारे खोजी गरेका थिए ।
आफुलाइ कम्प्युटर इन्जिनियर बताउने मिश्रले स्थानीयले केरकार गरेपछी आफू बिरामी नभएको तर लकडाउनमा गाडी नचलेका कारण श्रीमति भेट्न एम्बुलेन्स रिजर्भ गरेर हिडेको स्वीकारेका थिए ।
यता एम्बुलेन्स चालक सन्तोषकुमार यादब भने आफुले डिस्चार्ज पेपर हेरेर बिरामी बोकेको बताए। निजले रक्सी खाए नखाएको आफुले ख्याल नगरेको तर अहिले हेर्दा रक्सिले मातेको पाएको बताएका छन् ।
एम्बुलेन्सलाई फत्तेपुर प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सलाई जरिमाना तिराएर छाडिएको ट्राफिक प्रहरी पोष्ट फत्तेपुर कि सई शशीकुमारी घिसिङले जानकारी दिइन ।