मोरङ / जाडो मौसममा घर र उपयुक्त वासस्थानको अभावमा एक महिनाकी छोरी गुमाउन वाध्य मोरङको सुन्दरहरैंचा ५ की १८ वर्षीय मनिषा ऋषिदेवका लागि स्थानीय एक जनप्रतिनिधिले आफ्नो व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने प्रक्रिया थालेका छन् । सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्तकिरण राईले व्यक्तिगत रुपमा मनिषाका लागि न्यानो भूँइघर बनाइदिन थालेका हुन् । पुसको कठ्याङ्ग्रिदो चिसोका कारण एक महिनाकी छोरी रोशनीलाई गुमाउनु परेको पीडा भोगिरहेकी मनिषाको परिवारका लागि घर बनाउनेदेखि लिएर खानपानको व्यवस्था समेत राईले गर्दैछन् । चिसोको समयमा उपयुक्त वासस्थानको अभाव हुँदा र आर्थिक अवस्था कमजोर भएकै कारण न्यानो लुगा नपाएर परिवारका सदस्य नै गुमाउनु परेको पीडाले आफूलाई छोएको दाता राईले बताए । उनले चिसोबाट बच्न सक्ने र पछिसम्मलाई हुने गरीको घर निर्माण गरिदिंदा लाग्ने सबै खर्च आफूले बेहोर्ने घोषणा गरेसंगै त्यहाँ घर निर्माण प्रक्रिया सुरु गरिएको हो । ‘आर्थिक अवस्था कमजोर भएकी यिनको दयनीय अवस्था देखेर मैले न्यानो घर बनाइदिने काम अगाडि बढाउँदैछु ।’– छोरी गुमाउनुको पीडा भोगिरहेकी मनिषालाई देखाउँदै राईले भने । त्रिपालको छानो भएको र थोत्रा कपडाले बेराबारा गर्न प्रयत्न गरिएको ऋषिदेवको घरलाई न्यानो घर बनाउने प्रक्रिया आइतबारबाट थालिएको छ । सहयोग उपलब्ध गराउने र घर बनाउनका लागि प्रक्रिया सुरु गर्ने कार्यक्रममा गाविसका पूर्व अध्यक्ष कृष्ण दाहाल, सुन्दरहरैंचा ६ का वडा अध्यक्ष जीवन राई, वडा सदस्य कृष्णप्रसाद चापागाई लगायत उपस्थित भई ऋषिदेव परिवारको दर्दनाक अवस्था अवलोकन गरेका थिए ।
       दाता राईले मनिषालाई तत्कालका लागि पोषिलो खानेकुरा किन्न तीन हजार रुपैयाँ नगद सहयोग गरेका छन् । राईले उनको परिवारलाई चामललगायत खाद्यान्नको व्यवस्था पनि गरेका छन् । मनिषाका श्रीमान रवि दिनभर ट्रयाक्टरमा मजदुरी गर्छन् । सो रकमले परिवार पाल्न समस्या परिरहेको छ । ‘मजदुरी गरेर ल्याएको पैसाले विहान बेलुका खान पनि पुग्दैन । न्यानो घर बनाउने र न्यानो कपडा लाउन त सक्दै सकिदैन । ,’ रविले भने ।  उनले लगाउने, ओढाउने र ओछ्याउने न्यानो कपडाकै अभावमा एक महिना भइसकेकी छोरी गुमाउनु परेको गुनासो गर्दै भनिन् ‘अव घरको बेराबारा भयो भनें धेरै राम्रो हुन्छ ।’ मनिषाले छोरी जन्मिए यता पेटभरी खान र पोषिलो खानेकुरा पनि पाउन नसकेको बताएपछि राइको मन छोएको थियो । राईले चिसोका कारण पीडित बनेका त्यही टोलका तीन परिवार मुसहरलाई खाद्यान्नको व्यवस्था पनि गरिदिएका छन् ।
      त्यहाँ ५२ परिवार मुसहरहरुको बसोबास छ । यस वर्ष चिसोका कारण एक महिने शिशु सहित दुई जनाको मृत्यु भइसकेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण मुसहर समुदाय चिसोको चपेटामा परेको छ । न्यानो कपडा नहुँदा परिवारका सदस्य गुमाउनु परेको पीडाले उनीहरुलाई पिरोलिरहेको छ ।
       स्थानीय रुदाई ऋषिदेव अर्काको ज्याला मजदुरी गरेर दिन काटे पनि चिसो मौसममा रात काट्न समस्या हुने गरेको पीडा सुनाए । ‘न्यानो कपडा नहुँदा आछुआछु गरेर रात काट्नु पर्छ,’ उनले भने, ‘कसैले न्यानो कपडा दिए रात सजिलै काट्न सकिने थियो ।’ रुदाईले चिसोले अहिले वस्तीका बालबालिका र बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । उनीहरुको अनुहार र शरीरका सुनिन थालेका छन् । रुदाईले बिरामी परे नजिकै अस्पताल नहुँदा र उपचारका लागि सुविधासम्पन्न अस्पतालसम्म पु¥याउन पैसा अभाव हुँदा अकालमा ज्यान गुमाउनु पर्ने परिस्थिती रहेको सुनाए ।