धरान÷ सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार चतराधाममा कुम्भमेला लाग्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गदै आयोजक पक्षले कुम्भमेला लाग्ने विषयमा जानकारी गराएको हो ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले पत्रकार सम्मेलनमा सो बारे जानकारी दिएका हुन् ।उनका अनुसार चैत २३ गतेदेखी सुरु हुने कुम्भमेला बैशाख २४ गतेसम्म लाग्ने भएको हो । धार्मिक भावना कायम राख्न र देशवासीलाई एकतामा जोड्ने उद्देश्यका साथ कुम्भमेलाको आयोजना गर्न लागिएको जगतगुरु बालसन्तले बताए ।
चतरामा २०५९ सालमा पहिलो पटक पूर्ण कुम्भ मेला लगाइएको थियो । त्यसयता २०६६, २०७० मा अर्धकुम्भ मेला लगाइएको थियो । कुम्भमा विश्वभरका हिन्दु धार्मिक गुरुहरु र भक्तहरु आउने र धार्मिक अनुष्ठान गर्ने जनाएको छ ।
यस क्षेत्रले धार्मिक पर्यटकीय स्थलको रुपमा प्रसिद्ध पाएको छ ।मेलामा विश्वभरका लाखौ भक्तजनहरु आउने गरेकाछन् । धार्मिक क्षेत्रको रुपमा यसलाई प्रचार गर्न सके यस क्षेत्रको सर्वाङिण विकास ठूलो टेवा पुग्ने स्थानीयको भनाइ रहेको छ ।