काठमाडौँ – हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सोमबारदेखि सुरु हुँदैछ ।
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।
यस वर्षको मेला माघ ७ गते सामेबारदेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको सुरुवात आइतबार बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिएको समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।
पूजारीसँग जल लिनुअघि आइतबार नै व्रतालुले हातगोडाका नङ काटी शुद्ध बस्त्र पहिरिएका छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताए ।
स्वस्थानीको महिमा
यस अवसरमा काठमाडौँबाट १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।
देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेका थिए ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
सोमबार बिहान एक महिना लामो स्वस्थानी व्रतको आम्भ गरिँदै ।
एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।
शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।
स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।
परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।
शालिनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णमिासम्म एक महिना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय दिलीप श्रेष्ठले बताए । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।