धरान प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार भनेको पर्यटन क्षेत्र भएको बताएकाछन्
भेडेटारको सातौ फुड फेस्टिवलको सोमबार उद्घाटन गदै सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै राईले भेडेटार र यहाँको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा परेको भन्दै पर्यटनको विकास हुने कुरामा बिश्वस्त रहन स्थानीयबासीलाई आग्रह गरे ।
प्रदेश सरकारसँग पर्यटनको कार्यक्रम, योजना र बजेट पनि रहेको भन्दै मुख्यमन्त्री राईले सहकार्यको लागि निजी क्षेत्र र गाउँपालिकालाई पनि मञ्चबाटै आह्वान गरेका थिए ।
साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको स्पष्ट खाकासहितको गुरुयोजना लिएर प्रदेश सरकारलाई प्रस्तुत गर्न पनि मञ्चबाटै आह्वान गरे । भेडेटारमा भएको अहिलेको क्षमता र पुर्वाधारले मात्र पर्यटकहरुलाई नथाम्ने उनको भनाई रहेको थियो ।
भारतीय पर्यटकलाई लक्षित गरी हरेक वर्ष भेडेटार होटल एशोशिएसनले ३ दिने फुड फेष्टीबलको आयोजना गर्दै आएको छ । आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नको लागि फेष्टीबलकोे आयोजना गरिएको एशोशिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । महोत्सव बुधबारसम्म सञ्चालन हुनेछ ।