विराटनगर – प्रदेश नम्बर १ का उद्योग वाणिज्य, वन तथा पर्यटन मन्त्री जगदीश कुसियतले उत्पादनलाई समय सापेक्ष वनाउदै लैजानु पर्नेमा जोड दिएकाछन् ।
विराटनगरमा शनिबार नेपाल वन पैदावार व्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुसियतले उत्पादनलाई समय सापेक्ष वनाएर लान जोड दिएका हुन् ।र
उनले वन पैदावार व्यवयावसायीलाई पुरातन समयदेखि चल्दै आएको उद्यमशैलीलाई आधुनिकीकरण गर्दै अघि बढ्न सुझाव दिएका थिए ।
कुसियतले हरियो वन नेपालको धन भने झैँ वन–जंगलको संरक्षण र सम्बर्द्धन गर्न सबैमा आग्रह गरे। वन जंगलको सही रुपमा सम्बर्द्धन गर्न सके मुलुकमा आर्थिक समृद्धिमा त्यसले ठूलो फाइदा पुग्ने मन्त्री कुसियतको भनाई रहेको थियो ।
हाल विदेशी भूमिबाट ठूलो मात्रामा आयात हुँदा नेपाली रुपैयाँ विदेशिरहेको सन्दर्भमा कुसियतले काठजन्य सामग्रीको आयात रोक्ने र स्वदेशमै गुणस्तरीय उत्पादन बढाउनेतर्फ व्यवसायीले ध्यान दिनुपर्ने जोड दिए।
वन पैदावार मोरङका अध्यक्ष सीताराम अग्रवालले बिक्री प्रक्रिया झन्झटिलो, काठ दाउरा कटान समयमा हुन नसक्ने, माग र आपूर्तिबीचको दूरी कम गर्न आफूहरुले काठ विदेशबाट आयात गर्नुपर्ने बताएका थिए।
सरकारको ढिलासुस्तिका कारण वर्षेनि करोडौको काठ सडेर जाने गरेको छ । यस तर्फ सरकारले सहज रुपमा विक्री गर्ने व्यवस्था मिलाउने हो भने धेरै रकम सरकारको ढुकुटीमा जानेछ ।