इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले यस वर्ष विगतको भन्दा फरक ढंगबाट साधारण गर्ने भएको छ ।
यस वर्ष वार्षिक साधारण सभाका अवसरमा ५ दिन सम्मको कार्यक्रम तय गरीएको हो ।
साधारणसभाको अवसरमा पत्रकारिता सम्बन्धी विविध रचनात्मक क्रियाकलाप समावेश गरी कार्यक्रम गर्न लागिएको महासङ्घका सुनसरी अध्यक्ष अमर खड्काले बताए । विहिवार वसेको शाखाको बैठकले ५ दिने कार्यक्रम गर्ने निर्णय गरेको खड्काले जानकारी दिए ।
उनका अनुसार आगामी पुस १५ गतेदेखि कार्यक्रमहरु संचालन गरीने छ । सो कार्यक्रम अन्र्तगत भवन उद्घाटनदेखि अन्तरक्रिया, पत्रकारका सिर्जना सार्वजनिक, खेलकुद र स्वास्थ्य शिविर समेत हुने छ ।
साधारणसभामा साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि स्थापना गर्न लागिएको हित कोषको कार्यविधि पारित र भावी कार्यक्रम पारित हुने खड्काको भनाई रहेको छ ।
विगत वर्षहरुमा एक दिने कार्यक्रम गरेर साधारण सभा सम्पन्न गरीने गरेको थियो ।