विराटनगर – पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा प्रशिक्षणका क्रममा प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन्।
प्रहरीलाई नियमित तालिम दिने क्रममा मंगलबार मिस फायरिङ हुँदा केन्द्रमा कार्यरत प्रहरी जवान यादव घाइते भएको केन्द्रका प्रमुख समादेशक एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका हुन्।
एसएसपी थापाका अनुसार प्रशिक्षण दिने क्रममा सिरहा घर भएका जवान यादवको हातमा गोली लागेको छ। नयाँ प्रहरी जवानलाई प्रशिक्षण दिने प्रशिक्षक २७ वर्षीय यादवको देब्रे हातमा गोली लागेको बताइएको छ।
एसएसपी थापाका अनुसार प्रशिक्षणका क्रममा पेस्तोल सफा गर्ने क्रममा फाइरिङ भएको हो। सावधानी नअपनाई हतियार चलाइएका कारण घटना भएको स्रोतको दावी रहेको छ ।
तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएका जवान यादवलाई थप उपचारका लागि दिउँसो साढे ३ बजे काठमाडौँ लगिएको छ। यादवको अवस्था खतरामुक्त रहेको तालिम केन्द्रले जनाएको छ।