नुवाकोट । नुवाकोटका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अभियोगमा नेविसंघका नेतालार्इ प्रहरीले पक्राउ गरेको छ ।
बालिका बलात्कारको अभियोगमा नुवाकोट प्रहरीले वट्टार क्याम्पस नेविसंघका पुर्व ईकाई अध्यक्ष बादलमान श्रेष्ठ र नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रविन थापालार्इ पक्राउ गरेको हो । उनिहरू दुवैजना विदुर नगरपालिका–४ बट्टारका रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । ३२ वर्षीय श्रेष्ठ र २४ वर्षीय थापालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ । उनीहरुले गत साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।
किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ ।