काठमाडौँःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालयका २५ जना कर्मचारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
अख्तियारका उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाका अनुसार वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालयका कर्मचारीहरुले बिचौलियाको मिलेमतोमा बिना भिसा एवं गलत कागजातहरुमा श्रम स्वीकृति ९स्टिकर० प्रदान गरे गराएको खुल्न आएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियारले शाखा अधिकृत हरिप्रसाद देवकोटा¸ शाखा अधिकृत दीपककुमार आचार्य¸ शाखा अधिकृत गणेशविक्रम शाह¸ शाखा अधिकृत दिनेशकुमार राई¸ शाखा अधिकृत पवित्रा श्रेष्ठ र शाखा अधिकृत रामप्रसाद ओलीविरुद्ध मुद्दा दायर गरेको छ।
त्यसैगरी, नायव सुब्बाहरु अमरराज जोशी¸ विष्णुहरी निरौला¸ दिलबहादुर खत्री¸ हेमराज पाण्डे¸ कर्णबहादुर नेपाली¸ केदार घिमिरे¸ मदन गिरी¸ खगेन्द्र पोखरेल¸ लक्ष्मीदेवी भूषाल¸ नगेन्द्रप्रसाद गौतम¸ रवीन्द्र घिमिरे¸ रघुनाथ केसी¸ योगेन्द्र खत्री¸ केशवराज ढुंगानाविरुद्ध पनि सोही अभियोगमा मुद्दा दायर गरिएको छ।
कम्प्युटर अपरेटरहरु अमर महरा¸ चक्रबहादुर पराजुली¸ डम्बरबहादुर विश्वकर्मा¸ धनवीरसिंह भाट¸ राजकुमार शाही समेतका २५ जना उपर भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ।

त्यसैगरी, सरकारी कर्मचारीसँगको मिलेमतोमा गलत कागजात संलग्न गरी श्रम स्वीकृति लिने र दिलाउने काममा सहयोगी बनेका राजिवकुमार पञ्जियार र विकास थापाविरुद्ध पनि विषेश अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।
आयोगमा उजुरी आएपछि अनुसन्धान गर्दा वैदेशिक रोजगारको लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृती प्रदान गरे–गराएका वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कर्मचारीहरुले विचौलियाको मिलेमतोमा बिना भिसा एवं गलत कागजातहरुमा श्रम स्वीकृति ९स्टिकर० प्रदान गरेको खुलेको अख्तियारले प्रष्ट पारेको छ।