मोरङ हत्या अभियोगमा पक्राउ परेका दुइ अभियुक्त हिरासतबाट फरार भएकाछन् ।
इलाका प्रहरी कार्यालय विराटनगरस्थित हिरासतमा रहेका दुइ अभियुक्त विहीबार राति फरार भएका हुन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले घटनाको पुष्टि गदै फलामको रड काटेर भाग्दासम्म सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुले चरम लापरवाही भएको वताए ।

‘हिरासतबाट थुनुवा भागेका छन्, कसरी थुनुवा भागे भन्ने कुरा अनुसन्धान नसकिएसम्म भन्न नमिल्ने केसीको भनाइ रहेको छ ।
हिरासत कक्षको भेन्टिलेसनमा राखिएको फलामको रड काटेर थुनुवा फरार भएका थिए। कर्तव्य ज्यान तथा अपहरण मुद्धा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका विराटनगर महानगरपालिका १७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन प्रहरीको लार्पावाहीको कारण भागेको छन् ।
असोजको पहिलोसाता विराटनगरकै १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको घटनामा संलग्न आरोपमा दुवैजनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो। अस्ताकको अपहरणपछि हत्या गरिएको अवस्थामा शव गत असोज ७ गते ह्युम पाइप मुनि फेला परेको थियो।

अनुसन्धान बाँकी रहँदै दुबै अभियुक्त भने २४ घण्टा नै प्रहरीको ड्युटी रहने हिरासतबाटै फरार भएका हुन्। हिरासत कक्षको पूर्वतर्फको भेन्टिलेसनमा राखिएको ६ वटा रड काटिएको छ।
उनीहरुले कुन औजार प्रयोग गरेर रड काटे भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनास्थलबाट रड काट्नका लागि प्रयोग गरिएको कुनै औजार र काटिएका रडका टुक्रा पनि फेला पर्न सकेको छैन। रड काटेर भागेका दुवैजना भारततर्फ गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
एसपी केसीले ड्युटीका क्रममा लापरवाही गर्ने सात जना प्रहरीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए। घटना भएका बेला त्यहाँ ड्युटी रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर अनुसन्धान सुरु गरिएको र त्यसपछि कारवाही अघि बढाइने उनको भनाइ छ।

अनुसन्धानका लागि ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्के समेतलाई जिल्ला तानिएको छ।