काठमाडौँ – जुवा खालबाट चार लाख रुपैयाँ लुटेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई निलम्बन गर्न सिफारिस गरिएको छ।
काठमाडौँ प्रहरी परिसरले बिहीबार थापालाई निलम्बन गर्न महानगरीय प्रहरी कार्यालयलाई सिफारिस गरेको हो। काठमाडौँको म्हैपीमा सञ्चालित एक जुवा खालमा पुगेर थापाले जुवा खालबाट चार लाख रुपैयाँ लिएर निस्किएको स्वयं जुवा सञ्चालकको उजुरीपछि परिसरले उनलाई नियन्त्रणमा लिएको थियो।
थापालाई बर्खास्तसम्म गर्ने तयारीमा परिसर रहेको छ। प्रहरीले उजुरी गर्ने काभ्रेका रितेश लामा र दिनेश पराजुलीलाई पनि पक्राउ गरि जुवा कसुरमा मुद्दा चलाएको छ। अन्य केही फरार रहेको परिसर स्रोतले जनाएको छ। दशैँ चलिरहेका बेला थापा एक सिपाहीसहित उक्त जुवा खालमा पुगेका थिए।
थापाले सुरुमा जुवाको सबै पैसा नियन्त्रणमा लिए पनि पछि चार लाख रुपैयाँ साथमा राखेर बाँकी फिर्ता गरेका थिए। जुवा सञ्चालकहरुको उच्च प्रहरी अधिकृतसँग समेत साँठगाँठ रहेको स्रोतले बताएको छ।