• देवेन्द्र कार्की 

धरान/जीवनभर ओछ्यानमा छट्पटिइरहनुभन्दा त मर्न पाए हुन्थ्यो भन्ने लाग्छ, ३४ वर्षीय पुण्यप्रसाद प्याकुरेललाई । रातदिन आफू सुतेको ओछ्यानमाथिको घरको निदाल गनेर बस्छन् । झल्याक–झुलुक कल्कलाउँदा छोराछोरी आफू सुतेको कोठामा फुत्त पस्दा उनको पीडा बिथोलिन्छ ।
कम्मरमुनि झुन्ड्याइएको पिसाबको झोला भरिइसकेको हुन्छ । पीडाले भक्कानिएर आँसु त्यति नै बग्छ । उनी धरान–१५ स्थित बाँसको टाँटीले बारेको काकाको घरमा थलिएको २९ महिना भयो । कमाएर श्रीमती सुशीला प्याकुरेल भट्टराई, दुई छोरा–छोरीलार्ई पाल्ने ठूलो जिम्मेवारी बोकेका पुण्यप्रसाद यतिबेला अरुको सहारामा बाँचेका छन् ।
२७ वर्षीया श्रीमती सुशीला फुर्सदमा दाह्री सुमसुम्याउँदै बाँच्ने प्रेरणा दिन्छिन् । ‘म छु, समाज छ, तपाईको लागि’ भनेर हौसला पनि दिन्छिन् । त्यही हौसलामा उनको श्वास –प्रश्वास रोकिएको छैन । रित्तो बगली, खाली मन र चिसा आँखा लिएर बेला–बेला नजर लगाउने श्रीमती, काकीलाई मुसुक्क हाँसेर स्वागत गर्छन् । कसैले दया–मायाले दुई–चार रुपैयाँ दिए छोराछोरी पढाउने र घरखर्च चलाउने गरेका छन् । 
नियति 
२९ महिना अघिसम्म प्याकुरेल परिवार जे थियो, त्यसैमा आनन्दले रमाएर बसेको थियो । पसलमा काम गर्थे । बेलुका कमाएर ल्याई मीठो–मसिनो परिवारमा बसेर खान्थे । केही पैसा पनि बचत गर्थे । उनीहरुमा एउटा सपना थियो, सुखी परिवार, सम्पन्न परिवार बनाउने । तर उनीहरुको सपना अनयासै दैवले खोसिदियो । आफ्नो ड्युटीबाट टेम्पोमा चढी फर्कदै गर्दा पहाडी रुटको बसले धरानको वरगाछीमा ठक्कर दिएको थियो । दुर्घटनामा उनको मेरुदण्ड भाँचियो । अनेक उपाय लगाउँदा पनि उनको ढाडको उपचार हुन सकेन । उनी बाँचेका त छन् तर ओछ्यानबाट उठ्न सक्दैनन् । कम्मरमुनीको भाग चल्दैन । जीवन–मरणको दोसाँधमा रहेका प्याकुरेल आफन्तकोमा आश्रय लिएर बसेका छन् । उनी सिधा बस्नसमेत सक्दैनन्, दिसा–पिसाबसमेत ओछ्यानमै गर्नुपर्ने अवस्था रहेको छ । विपन्नताका कारण उनी आफ्नै घरमा बस्न पाएका छैनन् । पहिलेको केही बचत र साथीभाइको सहयोगले धरानको महादेवचौक नजिक ७ धुर जग्गा जोडेका छन् । वर्षौंसम्म काकाको घरमा बसेर काकालाई कति दुःख दिने भन्ने उनलाई लागिरहन्छ । तर उनी केही गर्न सक्दैनन् ।
प्याकुरेल परिवारको कहानी त्यस्तै छ । लाग्छ– उनीहरू नियतिले जुराएको जोडी हुन् । कल्कलाउँदा दुईजना छोराछोरीको मुख हेरेर जीवित रहने साहस गरेका छन् । घाइते अवस्थाका प्याकुरेल बाँच्छ भनेर कसैले भनेनन् । तर डाक्टरले बचाए । यातायात व्यवसायी र आफन्तको सहयोगमा उनलाई बचाउने काम भयो । 
आशाको दियो
काकाको घरमा बस्दा उनलाई अप्ठ्यारो भइरहेको थियो । धरानका मजदुर नेता तथा स्थानीय पत्रकारहरु उनीहरुको पीडामा मलहम लगाउन घर निर्माण अभियानमा जुटेका छन् । त्यसको अगुवाइ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका धरान अध्यक्ष कमल भट्टराई, जिल्ला उपाध्यक्ष लक्ष्मी बानियाँ, प्रेस चौतारीका पूर्वजिल्ला अध्यक्ष तथा मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, चौतारीका जिल्ला सह–सचिव विकास राई, धरान हेल्दी होमका दीपक बनेपालीलगायत एउटा सहयोग समिति नै बनाएर घर निर्माणमा लागेका छन् । लगभग एक लाख ७५ हजारको सामान सहयोग भएको छ । नगद १ लाख ३० हजार सङ्कलन भएको छ । घर निर्माणका लागि प्राविधिकले कूल ५ लाख २५ हजारको स्टिमेट गरेको घर निर्माण सहयोग संयोजक कमल भट्टराईले बताए । हाल घर निर्माण भइरहेको छ । मनकारीहरुको यो अभियानले पीडित प्याकुरेल आफ्नै केही समयपछि आफ्नै घरमा बस्न पाउने भएका छन् । अब उनको चिन्ता छोराछोरीको भविष्यमाथि छ ।
प्याकुरेलको याचना
मृत्युको मुखमा पुगेर फर्किएकाले प्याकुरेलको अनुहारमा रुञ्चे हाँसो भने छ तर ओछ्यानमा थलिएर श्रीमती आफन्तलाई नोकर बनाएर जीवन जिउनु पर्दा विरक्तिएका छन् । उनको अनुहारमा सेतो रङ मिसिएर टल्किएका झुस्स परेका दाह्रीले पनि यही सङ्केत गरिरहेको छ । बाँचेका छन् तर जिन्दगी कसरी डो¥याउने भन्ने पिरलो छ । गरिब नभएका भए त विदेशका सुविधासम्पन्न अस्पतालमा उपचार गराएर जिन्दगी नै विकलाङ्ग हुनुपर्ने थिएन होला । तर गरिबीका कारण उनले आफ्नै आँगनमा भएको अस्पतलामा उपचार गराए । बाँच्न मात्र सम्भव भयो । 
उनलाई आफ्नो चिन्तासँगै डेढ वर्षको छोरा आयुशको पिरले खाएको छ । ठूली छोरी ७ वर्षीया एयुशा प्याकुरेललाई कसरी पढाउने विहादान कसरी गर्ने, दैनिक उनीहरुको छाक कसरी टार्ने चिन्ता पनि छ । छोरी स्थानीय विद्यालयमा कक्षा दुईमा पढ्दैछिन् । यतिबेला यही सपनाले उनलाई रातदिन पिरोलिरहन्छ । उनको घर बन्दैछ । केही मनकारीहरुले सहयोग गरेका छन् । तर पूरै घर बनाउन समस्या भएको प्याकुरेल सहयोग समिति संयोजक कमल भट्टराईले बताए । छोराछोरी पढाउन कतै जोहो भए उनको आधा चिन्ता घट्ने थियो । उनी ओछ्यानबाट छोराछोरीको भविष्यको चिन्ता गरिरहेका छन् । उनले सहयोगको अपिल समेत गरेका छन् । स्पाइनल कर्ड भाँचिएको बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने निर्णय र मनकारीहरुको सहयोगमा घर बन्दै गर्दा उनले केही राहत भने महसुस गरेका छन् ।
इच्छुक सहयोगीका लागि 
कमल भट्टराई (प्याकुरेल सहयोग समिति संयोजक) 
फोन नं. ९८४२०२२९२४३
भीम ज्वाला राई (सहयोग अभियन्ता) ९८५२०४७७२८