धरान / तिहारमालाई लक्षित गर्दै भारतीय नागरिकले नेपाल भित्राएको ठूलो परिणामको पटका विहीबार धरान प्रहरीले बरामद गरेको छ ।  पूर्वका पहाडी जिल्लामा बिक्रीका लागि लान धरानमा भणडरण गरिएको पटका इलाका प्रहरी कार्यालय धरानले बरामद गरेको हो । धरान प्रहरीले विशेष सूचनाको आधारमा धरान–१० धर्मपथको मौसम सुनुवारको घरमा भाडा लिई बस्ने तीन भारतीय नागरिकले भण्डारण गरेको अवस्थामा २१ बोरा पटाका बरामद गरेको हो । पटाकासहित भारतीय नागरिकलाईसमेत पक्राउ गरिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
डिएसपी तिम्सिनाका अनुसार उनीहरूले तीन दिनअघि सुनसरीको सीमा नाका भण्टाबारीबाट केरा बोकेको गाडीमा हालेर धरान ल्याएका थिए । पक्राउ पर्नेमा भारतीय नागरिक विहारका अर्बिन देव, पाण्डव दास भनिने राजकुमार दास र दिलिप दास रहेक छन् ।
उनीहरूले धरानमा भण्डारण गरि धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत स्थानमा बिक्रीका लागि लाने तयारी गरिएको पाईएको छ । एक साता अघि कोठा भाडामा लिएका उनीहरुले विहीबार मध्य विहान धरान भित्राएको बताइएको छ । पक्राउ परेकालाई आतिसबाजीसम्बन्धी मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ । बरामद गरिएको पटक करिव १० लाख मूल्य बराबरको रहेको छ । तिहारका बेला आतिसबाजी गर्ने प्रचलन भएका कारण भारतीय बजारबाट अवैध रुपमा पटका नेपाल आउने गरेको छ ।