धरान / सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने। अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ। स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास गरेको हो।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।