काठमाडौँ /  सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ । सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी प्रदान गर्नुका साथै वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरेको पाइएको छ । मुलुकमा ३४ हजार ५१२ सहकारी रहेकामा बचत तथा ऋण परिचालन गर्ने करीब १५ हजार सहकारी छन् । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारणसभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले हाल सहकारीमा ६४ लाख शेयर सदस्य रहेकामा ५१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए । 
काठमाडौँमा कार्य क्षेत्र रहेको उक्त सहकारी संस्थाका अध्यक्ष ओमदेवी मल्लले साधारणसभामा संस्थाको चुक्ता पूँजी रु एक करोड ९७ लाख छ भने निक्षेप रु १२ करोड र ऋण रु आठ करोड रहेको जानकारी दिए । एक हजार ६५ सदस्य रहेको उक्त सहकारीले अहिले रु १५ करोडको कारोवार सञ्चालन गरेको छ ।