धरान / धरानमा संचालनमा रहेका अधिकांश मास पसल विना इजाजत संचालन हुदै आएको पाईएको छ । धरान उपमहानगरपालिकाले विहीबार गरेको बजार अनुगमनबाट यस्तो खुलेको हो ।
उपमहानगरको संयोजनामा उपभोक्त संरक्षण मञ्च, मासु व्यवसायी, सुनसरी उद्योग बाणिज्य संघ, इलाका प्रशासन र प्रहरीको टोलीले अनुगमन गरेको थियो । टोलीले १२ वटा मासु् पसल अनुगमन गरेको थियो । मासु पसल संचालनका लागि कसैले पनि इजाजत लिइएको नपाईएको अनुगमन अधिकत तथा धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेले बताए ।
पशु बधशाला तथा मासु जाँच ऐन २०५५ तथा नियमावली २०५७ अनुसारको मापदण्ड कुनै पसलले पुरा नगरेको पाइएको उपमहानगरले जनाएको छ । ऐनमा पशु स्वास्थ्य कार्यालयबाट इजाजत लिएर। मात्र पसल संचालन गर्नु पर्ने प्रावधान भए पनि अधिकाशं पसलेहरु इजाजत लिनेबारे बेखवर छन् ।
इजाजत लिनेबारे व्यवसायीहरुलाई कुनै जानकारी नभएर नलिएको मासु व्यवसायी संघ धरानका अध्यक्ष मदन राईले बताए । अनुगमन टोलीमै रहेका राईले व्यावसायीहरुले दर्ता गरे पनि इजाजत लिने विषयमा कतैबाट जानकारी नपाएर नलिएको बताए ।
उपमहानगरले २१ वटा बुदामा चेकलिष्ट बनाएर विहीबार बजार अनुगमन गरेको थियो । अनुगमनमा साईनबोर्ड, मुल्यसूचि, इजाजत पत्र नभएको पाइएको थियो ।
उनीहरुले पशु पक्षिको बध तथा पसल एकै स्थानमा गर्ने गरेको पाइएको छ । धरान–३ स्थित माछाभौडीका ७÷८ वटा पसलहरुको दयनिय अवस्था रहेको अनुगमन टोलीका सदस्य तथा धरान उपमहानगरका सूचना अधिकारी भक्तिराज शर्माले जानकारी दिए । फोहोर स्थानमा मासु राख्ने, मासु राख्ने सिसाको बक्स बनाएर राख्नु पर्ने भए पनि नराखिएको पाईएको छ । ‘एकातिर किरा हिड्दै गरेको अर्कातिर मासु काट्दै गरेको अवस्थासमेत छ ।’–शर्माले भने तत्काल सुधार गर्न निर्देशन दिएका छौ । साता भित्र सुधार नभए बन्द गर्ने छौ ।’
निम्नतम मापदण्डसमेत पुरा नगरिएको पाइएकाले सुधार गर्न निर्देशन दिएको अनुगमन अधिकृत घिमिरेले बताए । धरान उपमहानगरपालिकामा उपमेयर मञ्जु भणडरीको संयोजकत्वमा अनुगमन समिति रहेको छ । गत बर्ष पनि यही दशै आउनु केही दिन अघि एक दिन अनुगमन गरेर छाडेको थियो । त्यस बेला समस्या भएका पसलहरुमा अझै समस्या ज्युकातिउ रहेको पाइएको छ । उपमहानगरले बर्षमा एक पटक अनुगमन गरेर झारो टार्ने काम गरेको स्थानीयले गुनासो गरेका छन् । यस अघि पनि चेतावनी दिएर छाडिएका थिए । तर चेतावनी पाएका पसलहरुलाई पुनः अनुगमन नहुदा व्यवसायीहरुले सुधार गरका छैन् ।
टोलीमा इलाका प्रशासन कार्यालयका नासु गजेन्दू रम्तेल, उपभोक्त हित संरक्षण मञ्च क्षेत्रीय कार्यालयका उपाध्यक्ष कृष्ण ताम्राकार, धरान मासु ्व्यवसायी संघ धरानका अध्यक्ष मदनकुमार राई, सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटा, उपमहानगर तथा इलाका प्रहरी कार्यालय धरानका प्रतिनीधिहरुको सहभागीता रहेको छ । बजार अनुगमनलाई निरन्तरता दिने बजार अनुगमन समितिको संयोजक तथा कार्यवहाक मेयर मञ्जु भणडरीले जानकारी दिइन ।