धरान / धरान–१७ स्थित साकेला पार्कमा निर्माण गरिएको वनस्पति उद्यानको उद्घाटन गरिएको छ । उद्यानको उद्घाटन प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् । यस पार्कले धरानमा पर्यटकहरुलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटनको क्रममा सभामुख भण्डारीले प्रदेशको राजधानी तोक्ने विषय र नामाकरणको विषयमा आन्तरिक छलफल सुरु भएको बताएका छन् । प्रदेशको राजधानी र नाम बारे आन्तरिक छलफल सुरु भएको उनले बताए । उनले प्रदेश सभामा भएका दलहरुबीच संवाद सुरु भएको बताएका छन् । उनले भने –‘राजधानी र नामको विषयमा कम्तिमा प्रदेशका दुई तिहाइ सदस्यले निर्णय गर्नुपर्छ, त्यसका लागी म पनि प्रदेशका सदस्यहरुसँग संवाद, सहकार्य र गृहकार्यमा लागेको छु ।’
सरकारले पनि संसदमा रहेका दलहरुसँग त्यस विषयमा छफलफल थालेको र चाडै नै सदनमा उक्त विषयले प्रवेश पाउने भण्डारीले बताए । उनले प्रदेशको राजधानी धनकुटा, धरान, इटहरी, गोठगाँउ र विराटनगरले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेको बताए । त्यस्तै गरी प्रदेशको नामको सन्दर्भमा पनि सगरमाथा, कोशी, लिम्बुवान, किरात र खम्बुवान जस्ता नाम हुनुपर्छ भनेर धेरैले ज्ञापन पत्र बुझाएको उनले जानकारी दिए ।
किरात राई यायोखाको भोगअधिकार क्षेत्रमा रहेको पार्क निर्माणका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागले ७८ लाख ४२ हजार ७ सय ४६ रुपैया बजेट दिएको थियो । सोही बजेटबाट पार्क निर्माण् गरिएको हो । पार्कमा बाल उद्यान, पुस्तक बाटिकालगायत लोपोन्मुख बोटविरुवाहरु संरक्षण गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ ।  उद्घाटन कार्यक्रममा पष््रदेश सांसद उमिता बराईली, सावित्री श्रेष्ठ, नेकपाका नेता प्रकाश राईलगायतको उपस्थिति रहेको थियो ।