दमक — दमकमा एक कपडा व्यवासायीको हत्या भएको छ । दमक नगरपालिका ६ मा रेडिमेट कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।
पौडेलको शव मंगलबार बिहान गौरीगञ्ज–६ देवीगञ्जस्थित नेपाल–भारत सीमा नजिक भेटिएको थियो। बिहान ७ बजेतिर गाईवस्तु बाँध्न गएकाहरुले खेतको पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
कमल गाउँपालिका–६ मंगलबारे घर भएकापौडेलको हत्यामा संलग्न रहेको आशंकामा गौरीगञ्ज–६ का कपडा व्यापारी २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
पौडेलको घाँटी, छाती, पाखुरा गरी शरीरको विभिन्न भागमा गहिरो चोट रहेको प्रहरी निरीक्षक पौडेलले बताए।
प्रहरीका अनुसार पौडेल सोमबार बेलुकादेखि बेपत्ता थिए। सोमबार बेलुका ५ बजेतिर पसल बन्द गरेर श्रीमती दीपासँगै ग्राहकसँग पैसा उठाउन दमकबाट गौरीगञ्ज झरेका थिए।
घटनामा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । पौडेलको हत्या कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।