हिन्दु नारीहरुको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाईदैछ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने चलन छ ।
मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी, भगवान शिवको पुजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।राजधानीको पशुपती लगायत मुलुकभरका शिव मन्दिरमा भोलि बिहानैदेखि व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।
सत्ययुगमा देवी पार्वतीले शिवजीलाई पतिको रुपमा पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको धार्मिक मान्यता अनुसार हिन्दु महिलाहरुमा व्रत बस्ने परम्परा रहीआएको छ ।
तीजमा अविवाहित महिलाले योग्य पति तथा विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु , प्रगति र परिवासमा सुख शान्तिको कामना गर्दै व्रत बस्ने चलन छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।