धरान / धरान उपमहानगरपालिका वडा नं. १२ को एक भेलाले विराटनगर रानी–धरान ६ लेनको सडक सेउती कोरिडोर हुदै बनाउन सुझाव दिएको छ । वडा अध्यक्ष टंकबहादुर राई, योजना महाशाखा प्रमुख सुरज श्रेष्ठको उपस्थितिमा बसेको बैठकले धरानको मुख्य बजारबाट छ लेनको सडक बनाउन उपयुक्त नहुने बताउदै वाईपास सडक बनाउन धरान उपमहानगरपालिकालाई सिफारिस गरेको हो ।
धरानको बरगाछीदेखि जिरोपोईन्टसम्मको सडक सागुरो रहेकाले र अधिकाशंको घर जग्गा पुरै पर्ने भएकाले विकल्प खोज्न सुझाएको छ । ‘मापदण्ड अनुसार सडक विस्तार गर्दा यहाँका सबै घरहरु रहदैनन् ।’–वडा अध्यक्ष राईले भने–‘यसको विकल्प खोज्नु पर्दछ ।’
बैठकले सरोकारवालाहरुसँग समन्वय गर्न ११ सदस्यीय समितिसमेत बनाएको छ । सिमितमा पूर्व वडा अध्यक्ष मदन कर्मचार्य, राजु शाक्य, गिरीराज अधिकारी, केदार अग्रावल, भीमा शर्मा चौलागाई, कमल अग्रावाल, शौभाग्यप्रसाद श्रेष्ठ अशोक थापा, अलङ्कार पोलिखे, इन्द्र श्रेष्ठरहेका छन् ।
रानीदेखि छ लेनको बाटो विस्तार हुदैआएको छ । तराहरासम्म विस्तार भईरहेको छ । धरानमा भने सडक कहाँबाट लाने भन्ने विषयमा विवाद भएर टेण्डर नै लाग्न सकेको छैन् । बजारवासीहरुले वाईपास सडक लानुपर्ने माग गर्दै आएका छन् । धेरैको भने बजारबाटै सडक लानु पर्ने बताउदै आएका छन् । बजारलाई वाईपास गर्दा धरान बजार मृत हुने बताउदै आएका छन् । केही दिन अघि धरानमा भएको एक कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्रि हिक्कत कार्कीले सडक बजारबाटै लागर्नु पर्ने धारणा राखेका थिए ।