धरान / धरान–६ पानवारी स्थित घोपाली टोलमा खेल मैदान विस्तार भन्दै सामुदायिक वनको रुखहरु वन कार्यलयलाई कुनै जानकारी नगराई काटिएको छ ।
पानवारी सामुदायिक वनले लगाएका टिकका रुखहरु खेल मैदान निर्माण समितिका अध्यक्ष तारा तामाङले जेसिबी प्रयोग गरी जरै पल्टाए लडाइएको छ । पानवारी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो वन क्षेत्रभित्र समितिलाई पनि जानकारी नदिइ खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष तारा तामाङले जेसिबी प्रयोग गरी रुख पल्टाएको भनी सूचना दिएपछि सव डिभिजन वन कार्यालय पाँचकन्याले छानविन शुरु गरेको हो ।
सामुदायिक वनका पदाधिकारीहरुलाई पनि कुनै जानकारी नदिई रुख गत भदौ १ गते काटिएको थियो सोही दिन समुहका अध्यक्ष दुर्गा सिवाकोटीसहतिको टोलीले इलाका वन कार्यलयमा जानकारी गराएको थियो । शनिवार वन कार्यालयका रेञ्जर इश्वरी वास्तोलाले काटिएका रुखको प्रकृति मुचुल्का उठाएर जरै पल्टाएका रुखको रेखदेखको जिम्मा पानवारी सामुदायिक वनलाई जिम्मा दिइएको छ ।
सिवाकोटीका अनुसार १४ वटा टिकको रुख, १ बेलको रुख, १ कदम र १ असारे गरि १७ वटा रुख काटिएको छ । ती रुखको कति परिणाम छ भनेर नापजाँच नभईसकेको उनले बताए । रेञ्जर वास्तोलालाई अनुसन्धान अधिकृत तोकेर कारवाही प्रकृया अगाडी जिल्ला वन कार्यलयले निर्देशन दिएको हो ।
३ महिना अघि खेल मैदान निर्माण गर्न रुख काट्ने बारे धरान वडा नं. ६ का वडाध्यक्ष भुवनसिं बस्नेत, खेल मैदान निर्माण समितिका सदस्य र सामुदायिक वनका पदाधिकारी बीच छलफल भएको बताइएको छ । छलफलमा वन अन्तर्गतको नियमानुसार अघि बढ्नुपर्ने भन्दै स्थानीय तह र सामुदायिक वनले त्यसबारे निर्णय गर्न नसक्ने निर्णय गरिएको पानवारी सामुदायिक वनका अध्यक्ष दुर्गा शिवाकोटीले बताए । तर निर्माण समितिका अध्यक्षले एक्कासी रुखका जरै उखेलेर पल्टाए पछि समस्या भएको हो । नियमत वन उपभोक्ता समितिले कुनै प्रयोजनका लागि रुख काट्न जिल्ला वन कार्यलयसँग अनुमति लिनु पर्ने हुन्छ । यसरी अनुमतिविना काचा रुख काटिएमा वन ऐन अनुसार कारवाही हुने रेञ्जर बास्तोलाले बताएको अध्यक्ष सिवाकोटीले बताए । तारा तामाङ भने विमारी भएर अस्पतालमा रहेको बताइएको छ ।
यस अघि पनि पानवारी सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा ठूलो परिणाममा रुखहरु अनाधिकृत रुपमा कटान गरेपछि वनका पदाधिकारीहरु कारवाहीमा परेका थिए ।