धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मेजेन्सी(आकस्मिक कक्ष)को क्षमता विस्तार गर्न थप भवन निर्माणको काम शुरु भएकै दिन स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको निर्देशनमा रोकिएको छ ।
आकस्मिक कक्षमा क्षमताभन्दा बढी विरामीहरुको चाप बढे पछि आकस्मिक कक्ष विभागले क्षमता बढाउन प्रशासनमा माग गरेको थियो । उक्त कामका लागि मन्त्रलायले बजेट नदिए पछि अस्पताल प्रशासनले आन्तरिक श्रोतबाट खर्च गर्ने गरि गत विहीबार मात्र हालको आकस्मिक कक्ष पछाडी खाली रहेको जग्गामा भवन निर्माणको काम शुरु गरेको थियो ।
प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले मन्त्रालयबाट तत्काल निर्माण कार्य रोक्नु भन्ने मौखिक निर्देशन आएकोले काम रोकिएको जानकारी दिए । प्रधानमन्त्रिको कार्यलयबाट नै प्रतिष्ठानको बिषयमा छानबिन भइरहेकोले निर्माण कार्य तत्काल नगर्न मन्त्रालयले निर्देशन दिएको बताइएको छ । ‘मन्त्रि ज्युले प्राविधी समस्या भन्दै रोक्न मौखिक आदेश दिनुको छ । केही समयलाई रोक्नु भन्ने आदेश भए पछि रोकिएको हो ।’–रजिष्टार श्रेष्ठले भने ।
मन्त्रालयले नै छानविन गरिरहेको बेला प्रतिष्ठान प्रशासनले आफुखुशी भवन निर्माण थालेको बताइएको छ । प्रतिष्ठानको गतिविधी र यहाँ भएको अनियमितताबारे छानबिन गर्न प्रधानमन्त्रिको कार्यलका सचिव केदार अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको छ । उक्त समितिले २ पटक प्रतिष्ठानमा आएर आवश्यक कागजात नियन्त्रणमा लिएर विभागीय प्रमुख, पूर्व पदाधिकारीहरु, वर्तमान पदाधिकारी, कर्मचारीहरुसँग राय, सुझाव पनि लिएको छ ।
यता विभागीय प्रमुख डा.ज्ञानेन्द्र मल्लले भने काम रोकिएकोमा आपति जनाएका छन् । आकस्मिक कक्षमा थामि नसक्नु विमारीको चाप रहेको छ । भीडभाडमा राम्रो उपचार नपाएर सेवाग्राहीहरुको गुनासो आईरहेको उनले बताए । उनको अनुसार विभागको ४० बेड क्षमतासहितको अब्जरबेशन भवन विस्तार हुन लागेको थियो ।
पूर्वकै रिफरल सेन्टर भएकोले प्रतिष्ठानमा दैनिक क्षमताभन्दा बढी विरामीहरु आकस्मिक कक्षमा आउने गर्छन् । अहिले इर्मेजेन्सीमा ५० बेड हाराहारीमा मात्र क्षमता छ । तर, आवश्यक भने कम्तीमा पनि १ सय २० बेड भएको आकस्मिक डा.मल्लले बताए । भुईमा राखेर उपचार गरिदै आएको छ ।
आकस्मिक कक्ष विस्तार निर्माण कार्यको ठेक्का सुनकोशी प्रजित जेभीले २ करोड ४६ लाख ६२ हजार ५५१ मा ठेक्का पाएको थियो । करिब ६ महिनाभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौता भएको थियो ।
यस विषयमा अस्पतालका निर्देशक डा.गौरिशंकर साहले सबै प्रक्रिया पु¥याएर निर्माण शुरु गरिएको बताए । सिनेटबाट बजेट पास गराएर ठेक्का लगाएको बताउदै मन्त्रिले किन रोक्न लगाउनु भयो आफुहरुलाई थाहा नभएको उनले बताए ।