धरान / धरानको व्यस्त बजार महेन्द्र पथमा रहेको मिक कम्प्यूटर प्रालिका सञ्चालक तथा नेपाली काँग्रेस महासमितिका सदस्य राजकुमार थोप्रा सहित चार जना सरकारी कागज पत्र किर्ते गरेको आरोपमा विहिबार राती पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यलय, इलाका प्रशासन कार्यलय, धरान उपमहानगरपालिकाका विभिन्न कागजातहरु नक्कली किर्ते गरिएको गोप्य सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राजकुमार थोप्रा, राम सेवा, मिक कम्प्युटर प्रालिमा नै कार्यरत कर्मचारी वीरध्वज लिम्बू र सरोज योङहाङ रहेको प्रहरीले जनाएको छ ।  विभिन्न सरकारी कार्यालयका कागजातहरु नक्कली बनाएर बिक्री गरेको भन्दै संघीय इकाइ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको सयुक्त टोलीले मिक कम्प्युटरमा छापा मारी किर्ते कागजातसहित उनीहरुलाई पक्राउ गरेको हो ।

छापा मार्नेक्रममा अन्य सामाग्रीहरु पनि फेला परेपछि मिक कम्प्यूटरलाई प्रहरीले सिलबन्दी गरेको छ ।  प्रालीमा कम्प्युटरका विभिन्न कोर्षहरुको प्रशिक्षण तथा कम्प्युटर मर्मत हुनु गरेको छ । मिक कम्प्यूटरबाट नागरिकता, कलेजको सर्टिफिकेट, एसएलसीको सर्टिफिकेट, मार्कसिट बनाउन प्रयोग हुने कागज ठुलो परिणाममा बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै नक्कली कागजात बनाउन प्रयोग हुने कम्प्यूटर प्रिन्टर समेत बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले लामो समयदेखि निगरानी राखेको बताइएको छ । पक्राउ परेका टोलीले लामो समयदेखि भारतीय नागरिकता र पासपोर्ट, विदेश जाने युवाहरुको नक्कली शैक्षिक प्रमाण पत्र, ब्रिटिस आर्मि भिड्ने युवाहरुको नक्कली सर्टिफिकेट बनाएर पैसा असुली गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले दावी गरेको छ । प्रक्राउ परेकाहरुलाई शुक्रबार नै  जिल्ला अदालत इनरुवाबाट म्याद थप गरिएकाे छ । यता पक्राउ परेकाहरुले भने  नियाेजित रुपमा फसाइएकाे बताएका छन् ।

1