काठमाडौं / ११ वर्षीय बालकको खोजी गरिरहेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले जानकारी दिए । घटनास्थलबाट एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।
११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या

आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ । ठिमी गरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेको बताइएको छ ।