लहान / सिरहाको लहान नगरपालिका राजमार्ग क्षेत्रको फोहर उठाएर नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलका कार्यकर्ताले आज नगरपालिकाको कार्यालय परिसरमा थुपारेका छन् ।  लहान नगरपालिकाले सरसफाइ नगरेको भन्दै सोको विरोधमा नेविसंघ र तरूण दलका नेता कार्यकर्ताहरुले सडकको फोहर नगरपालिका कार्यालय परिसरमा थुपारेका हुन् । राजमार्ग क्षेत्रबाट संकलन गरिएको दुई ट्र्याक्टर फोहर नगरपालिकाको मुख्यद्वार र परिसरमा थुपारे विरोध जनाएको नेविसंघका केन्द्रीय सदस्य अशोक चौधरीले जानकारी दिए । 
नगरपालिकाले सरसफाइ कर लिने तर फोहर नउठाउने गरेकाले त्यसको विरोधस्वरुप फोहर उठाएर नगरपालिकामा थुपारेको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो । विगत दुई सातादेखि सडक खाली गराउने बहानामा फोहर नउठाएर नगरपालिका कार्यालयले नगरवासीको स्वास्थ्यसँग खेलबाड गरेको नेविसंघले आरोप लगाएको छ । राजमार्ग क्षेत्र खाली गराउने विषयमा सडक विभागसँग भएको आन्तरिक विवादका कारण लहान नगरपालिकाले विगत १८ दिनदेखि राजमार्ग क्षेत्रको फोहर नउठेपछि जताततै फोहोर थुप्रिएर राजमार्ग क्षेत्र कुरुप बनेको स्थानीयवासीको गुुनासो छ ।