• जनसहभागीतामा चार करोड लागतमा अाधुनिक हिरासत बन्दै

धरान / सामाजिक काममा मन खोलेर सहयोग गर्ने जनसहभागिताको शहर बनाउने धरानेहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले खुलेर प्रसंसा गरेका छन् । उनले भने –‘धरानको विकासको मोडेल अन्य स्थानमा पनि पछ्याएका छन् । मैले पनि गौरादह नगरपालिकामा जनसहभागिताबाट काम थालनी गरेको छु । त्यो धरानेबाटै सिकेर हो ।’
उनले धराने जनताको सकृताको खुलेर प्रसंसा गरे । पिण्डेश्वरदेखि पाँचकन्या हुदे बुद्धिकर्ण राजाको दरवारसम्म धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउनका लागि गुरुयोजना तयार गर्न स्थानीय सरकारलाई निर्दैशन समेत दिएको मन्त्रि कार्कीले बताए । धरानको हातिसारस्थित केन्द्रीय प्रविधी क्याम्पसबाटै उच्च शिक्षा हासिल गरेरका मन्त्रि कार्कीले धरानसँग भावनात्मक सम्बन्ध समेत भएकाले धरानको विकासमा कुनै कमी आउन नदिने प्रतिबद्धतासमेत जनाए ।
धरानमा निर्माण शुरु भएको सुविधा सम्पन्न हिरासतमा बसेर जाने व्यक्ति अव फर्केर समाजको अगुवा बन्ने समेत मन्त्रि कार्कीले बताएका छन् । सोमबार इलाका प्रहरी कार्यालय धरान परिसरमा सुविधा सम्पन्न हिरासत भवनको शिल्यान्यास गर्ने क्रममा यस्तो बताएका हुन ।
धरानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्ष ४० जनाको क्षमताको हो । तर यहाँ ९३ जनासम्म थुनुवा बस्दै आएका छन् । क्षमता भन्दा बढी थुनुवा राख्नु पर्ने बाध्यता हटाउन यहाँका डिएसपी रामेश्वर पौडेलले यस्तो अवधारणा ल्याई समाजका अगुवाहरुसँग सहयोग मागेका हुन । करिब २ कट्ठा जमिनमा १ सय ६० जनाको क्षमता भएको दुई तले हिरासत भवन बन्दै छ । ४ करोड लागतमा निर्माण हुने भवनका लागि समाजसेवी मिन सुब्बाले संयोजकत्वमा १७ सदस्यीय ईप्रका हिरासत भवन निर्माण समिती समेत गठन गरिएको छ । सोमबार मात्र दाताहरुले ३२ लाख कार्यक्रम स्थलमै चेक तथा नगद हस्तान्तरण गरेका थिए ।
१ वर्ष भित्रमा भवन निर्माण गरिसक्ने गरि शुरु गरिएको भवनको भुई तलामा २० जना महिला थुनुवाहरुका लागि एउटा कोठा तयार गरिन्दैछ । माथिल्लो तलामा पुरुष थुनुवाका लागि ३ वटा कोठा निर्माण गरिन लागिएको छ ।
निर्माणाधिन भवनमा हिरासतकक्ष मै ट्वाईलेट बाथरुम, पानीको सुविधा, थुनुवा भेट्न आउनेहरुका लागि भवन परिसरमा पार्क समेत निर्माण गरिने भएको छ । प्रकृति अनुसारका थुनुवाहरुलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरिने बताइएको छ ।