धरान / विगत ८ वर्षदेखि धरान ९ स्थित कभर्डहलमा स्वयंमसेवक प्रशिक्षकको रुपमा उसु प्रशिक्षण गराउँदै आइरहेका बिकी राई मृगौला रोगबाट पीडित भए पछि धरान ८ मा रहेको शिद्धार्थ पुस्तकालयले आर्थिक सहयोग गरेको छ ।
पुस्तकालयको २१ सदस्यहरू र पुस्तकालयको ६ हजार गरी पीडित प्रशिक्षक राईलाई उनको निवासमै गएर ५१ हजार २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
पुस्तकालयका सदस्य समेत रहेका प्रशिक्षक राईलाई पुस्तकालयका अध्यक्ष विसन्शोर राई, उपाध्यक्ष कृष्ण राईलगायत अन्य सदस्यहरूले सहयोग हस्तान्तरण गरेका थिए । राईले हप्ताको २ पटक डायलसिस गरारहेका छन् । राई धरान १५ मा १३ वर्षीय छोरी र श्रीमतीको साथमा बस्दै आएका छन् ।

डाक्टरका अनुसार मृगौला प्रत्योरोपण अन्तिम विकल्प रहेकोले राई मृगौला प्रत्यारोपणका लागि दक्षिण भारतको कोयमतुर, तमिलनाडु जान सल्लाहा दिएका छन् । प्रत्यारोपणको लागि करिव २० देखि २५ लाख रुपैयाँ लाग्ने बताइएको छ । लामो सयम राज्यको तर्फबाट उसु प्रशिक्षण गरेका उनलाई राज्यले भने कुनै सहयोग गरेको छैन् ।