माेरङ / मोरङका स्थानीय तहका बहुमत नगर प्रमुख तथा उपप्रमुखले मोरङको गोठगाउँलाई प्रदेश १ को राजधानी राख्न माग गरेका छन् । मोरङको १७ स्थानीय तह मध्ये बहुमत स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संयुक्त बैठक बस्दै गोठगाउँलाई राजधानी राख्न माग गरेका हुन् । नेपालको संविधान २०७२ मा व्यवस्था भए अनुसार सुन्दरहरैचा नगरपालिकास्थित गोठगाउँमा प्रयाप्त पूर्वाधार रहेकाले पनि गोठगाउँ राख्न उनीहरुले माग गरेका हुन् । सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालयको भोगाधिकारमा रहेको ८०५ विगाहा क्षेत्रफलमा प्रसस्त भौतिक पूर्वाधार रहेकाले पनि प्रदेशको राजधानी गोठगाउँ उपयुक्त भएको बताए ।
प्रदेश र प्रतिनिधि सभाको चुनावी मतपरिणाम आएको २० दिन भित्र नै प्रादेशिक राजधानीको टुंगो लगाउनु पर्ने प्रावधान भएबमोजिम गोठगाउँलाई बनाउन बेलबारी नपाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलेसमेत माग गरे । गोठगाउँलाई प्रादेशिक राजधानी बनाउनको लागि बेलबारी, सुन्दर हरैचा नगरपालिका मात्रै नभई पथरी, उर्लाबारी, लेटाङ, केराबारी, कानेपोखरी, मिक्लाजुङलगायतका मेयर तथा उपमेयरहरुहरु सहमत भएका छन् ।