धरान /  एक दशकअघि धरानकी टिम्पल लिम्बू ब्रिटिश सेनामा भर्ती हुन भनेर कठिन तालिममा सहभागी भइन । तर पछि गोखा सैनिकमा भर्ना हुन पाईनन । अहिले सन् २०२० सम्ममा नेपाली महिलालाई भर्ती गरिने घोषणा भएको छ । आफूले गरेको तालिम सम्झिँदै र भर्ती हुन नपाएकोमा दुस्ख व्यक्त गर्दै २९ वर्षीया लिम्बू भन्छिन, “यो अवसर पहिलेदेखि नै दिइनुपर्थ्यो।”
ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ ।
नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन् । यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ ।
भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको छैन । त्यसैले महिलाहरूले पनि पुरुषहरूले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ । ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ’महिलाहरूले सो सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको’ बताएका छन् ।
ब्रिटिश सेनाका एकजना वरिष्ठ अधिकारी एवम् गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोप, सीबीईले यो निर्णयले ब्रिटिश सेनाको खुलापन र विविधता प्रतविम्बित गर्ने बताए । यो नीति महिलाहरूलाई पनि स्थलगत लडाइँमा प्रत्यक्ष सहभागी हुने अवसर दिने ब्रिटिश सरकारको निर्णय अनुरूप नै छ । “ब्रिगेड अफ गुर्खाज सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुनेछ,“ उनले भने । 

योग्यता
छनोट प्रक्रियामा सहभागी हुन आवेदकको तौल ५० केजी र उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी हुनुपर्छ । उनीहरू आठ चोटि ’अन्डर्आर्म हीभ’ गर्न सक्षम पनि हुनुपर्छ ।
छनोटका लागि आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्नेछ । भर्ना प्रक्रिया पोखरामा हुनेछ । छानिएका आवेदकहरूले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन् ।
इतिहास
सन् १८१५ मा नेपालमा आक्रमण गर्दा ठूलो क्षति बेहोरेपछि ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच एउटा सम्झौता भयो। त्यसअनुसार नेपालीहरू पनि ब्रिटिश फौजमा भर्ती हुन पाउने भए । सन् १९४७ मा भारत विभाजित भएपछि नेपाल, भारत र ब्रिटेनबीच अर्को सम्झौता भयो। त्यसपछि भारतमा भएका चारवटा गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सारिए ।
तिनै रेजिमेन्टहरू मिलाएर ब्रिग्रेड अफ गुर्खाजको गठन भयो ।
संख्या घट्दो
द्वितीय विश्वयुद्धका बेला गोर्खा सैनिकको संख््या सर्वाधिक अर्थात् एक लाख बाह्र हजार थियो । प्रथम र द्वितीय विश्वयुद्धमा दुई लाख ३० हजार भन्दा बढी गोर्खा सैनिकहरू सहभागी भएका बताइन्छ ।
अहिले झन्डै तीन हजार गोर्खा सैनिक सेवामा छन् । युद्धभूमिमा जाँदा आधुनिक हतियारबाहेक अहिले पनि उनीहरू परम्परागत हतियार १८ इन्च लामो खुकुरी बोक्छन् । वीवीसीबाट