मोरङ / मोरङको गोठगाउँलाई १ नम्वर प्रदेशको राजधानी बनाउन दवाव दिन शनिवार सुन्दरहरैंचामा वृहत मोटर साईकल -याली भएको छ ।
भौतिक पूर्वाधार, वातावरणीय र सुरक्षाको हिसावले पनि गोठगाउँमा रहको पूर्वाञ्चल विश्वविद्यालयको क्षेत्र राजधानीको लागि उपयुक्त रहेको भन्दै सबै कार्यलयहरु यस क्षेत्रमा राख्न स्थानीयले माग गरेका छन् ।
सुन्दरहरैंचामा रहेका संघसंस्थाहरुको आयोजनामा भएको -याली विराटचौकबाट शुरु भइ इटहरीचोक परिक्रमा गरेर खोर्सानेमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईले गोठगाउँमा जिर्ण बन्दै गरेको भवनमा राजधानी बनाउन नव निर्वाचित जनप्रतिनिधिहरुले विशेष पहल गर्नु पर्ने बताए । सोलुदेखि ताप्लेजुङसम्मका जनतालाई पायक पर्ने स्थलको रुपमा रहेको गोठगाउँ वातावरणीय रुपमा पनि उपयुक्त रहेको चापागाईंको दावी थियो । गोठगाउँलाई राजधानी नतोकेमा थप संघर्षको कार्यक्रम गर्ने कोणसभालाई सम्बोधन गर्ने नेताहरुले चेतावनी दिएका छन् ।
मन्त्रीपरिषदले सातैवटा प्रदेशको सचिवालय रहने सम्भाव्यता स्थलको पहिचान गर्ने क्रममा १ नम्वर प्रदेशको लागि मोरङको गोठगाउँ उपयुक्त हुने सुझाव विज्ञ समितिले पेश गरिसकेको छ । विश्वविद्यालयको ८ सय ५ विघा जग्गा रहेको छ । सो क्षेत्रमा राजधानी बनाउन उपयुक्त रहेको जनाउदै सुन्दरहरैंचा नगरपालिकाको बैठकले निर्णय गरि नेपाल सरकारलाई ज्ञापन पत्र समेत पठाईसकेको नगरपालिकाकी उपमेयर ढाका पराजुलीले जानकारी दिईन ।