धरान / धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/२०७६ का लागि १ अर्ब ८० करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेटको आकार अघिल्लो आर्थिक बर्षको भन्दा २५ करोड बढि हो । उपमहानगरले पर्यटन विकाशलाई प्राथमिकतामा राखेर बजेट बनाएको छ ।
१९० वटा विभिन्न बुँदामा विकास तथा नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको धरानले पर्यटन प्रवद्धनका लागि लागि दुई करोड ६२ लाख बजेट बिनियोजन गरेको छ । पर्यटनको राम्रो सम्भावना भएको धरानमा धार्मिक, साहसिक, सांस्कृतिक तथा होमस्टेबाट पर्यटनको प्रबद्र्धन गरिने उल्लेख गरिएको छ । ब्जेटमा स्मार्ट बसपार्कदेखि केवलकारसहितका परियोजनाहरु समेटिएको छ । धरान उपमहानगरपालीकाले धरान–८ स्थित तीनकुने सुन्दर बस्ती क्षेत्रमा स्मार्ट बसपार्क बनाउने भएको छ । यस अघि नै सुविधासम्पन्न बस पार्क बनाउन जग्गा अधिग्रहण गरि राखिए पनि राजनीतिक दलहरुको असमझदारीले बन्न सकेको थिएन । प्रदेश सरकार तथा नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त क्षेत्रमा अत्याधुनिक बसपार्क बनाउने गरि बजेट प्रस्तुत गरेको हो ।
यस्तै धरानले केवलकार परियोजना पनि सञ्चालनमा ल्याउने भएको छ । प्रदेश र निजी क्षेत्रसँगको सहकार्यमा धरानले केवलकार परियोजना सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । विष्णुपादुका, धरान, विजयपुर र भेडेटारलाई समेटेर कुवलकार संचालन गर्ने गरि उपमहानगरले तयारी गरेको छ । यस योजना प्रदेश सरकारको बजेटमा समेत परेको छ ।

यस्तै धरान भरिका स्थानीयको सबै मुख्य सूचना सङ्कलन गर्नेगरि सिटी डिजिटल म्याप समेत बनाउन बजेटमा समेटिएको छ । आफ्ना नागरिकको आधारभूत विवरण, पेसा व्यवसाय, सामाजिक आर्थिक विकासको अवस्था, संस्थागत सूचना आदि झल्किने गरी बहुक्षेत्रीय तथ्याङ्क पद्धति सहितको डिजिटल नगर चित्र तयार गरेर वेबसाइटमा राखिने भएको छ ।