धरान / मदन भण्डारी राजमार्ग अन्तर्गत धरान र बराह नगरपालिकालाई जोड्ने धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल निर्माण धमाधम भईरहेको छ ।
धरानदेखि हेटौडासम्मको करिव ३११ किमी सडक अन्तर्गत पर्ने ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनले उक्र पुललाई प्रभामिकतामा राखेर ३ महिना अघि देखि काम शुरु गरेको हो । बर्षयाममा आउने बाढीले बराह नगरबाट धरान उपमहानगरसम्म आउने खाद्यन्न, तरकारी तथा दुध व्यापारीहरुलाई बर्षौदेखि समस्या भोग्दै आएका थिए । यो पुल निर्माणले कृषकहरुलाई राहत हुने धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए ।
स्थानीय तहका उमेद्वार तथा प्रदेश र प्रतिनीधि सभाको उमेद्वारहरुले समेत यसै पुललाई चुनावी एजेण्डा बनाएका थिए । धरान–हेटौडा सडक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले बजेट विनियोजन गरि रसुवाले काम शुरु गरेको हो । अन्य पुल बनाउन रसुवाले पश्चिमी क्षेत्रबाट शुरु गरे पनि सुनसरी क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य जयकुमार राई धरान १७ का वडा अध्यक्ष भट्टराईको पहलमा असार अगाडी नै पिलरका काम सक्ने गरि पूर्वबाट यही पुलको काम शुरु गरिएको थियो । सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ । यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो ।