धरान / सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४ सय चल्ला कुनै रोगले नभई दुषित पानीका कारण मरेको जिल्ला पशु सेवा कार्यलय सुनसरीले जनाएको छ ।
स्थानीय उपेन्द्र यादवले खरिद गरेर ल्याएको ४ सय चल्ला मंगलबार परेका थिए । उक्त घट्ना पछि मरेका चल्लाको स्याम्पल विराटनगरस्थित क्षेत्रीय पशु रोग अन्वेशन प्रयोगशालामा परिक्षणका लागि पठाइएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले जानकारी दिए ।
परिक्षणबाट कुनै रोगको कारण नभई पानीको कारणले मृत्यु भएको रिर्पोट आफुलाई प्राप्त भएको प्रमुख महतोले बताए । ‘सुनसरीमा कुनै रोग छैन् । रोग आउन नदिन जिल्ला बाहिरबाट कुखुरा आयत रोक लगाउन जिल्लास्थित सुरक्षा निकायलाई पत्रचार गरिसकेको उनले जानकारी दिए । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला स्थानीय डिलरबाट खरिद गरेका थिए । पश्चिमी चितवनबाट ल्याइएको चल्लाका कुनै रोग नभएको र क्यारेन्टाईन चेकपोष्टमा निरोगिता प्रमाणित गरेर ल्याइएको बताइएको छ ।
कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले चल्ला कुनै रोगले नभई हावा नछिर्ने खोरका कारण निसासिएर मरेको बताए । आफुहरुले हप्तामा २०देखि २२ हजारसम्म चल्लाहरु मोरङ र सुनसरीमा विक्रि गर्दै आएको बताए । यादवसँगै ल्याएका अन्य ठाउँका चल्लालाई केही नभएको तर यादवको खोरका कारण नै मृत्यु भएको बताए ।