सप्तरी / कैदीबन्दीहरुमा सकारात्मक चिन्तन विकास गरी तनाव व्यवस्थापन गर्न राजविराज कारागारको क ब्लकमा जारी शिविरको समापन भएको छ ।
कारागारका कैदी बन्दीहरुलाई असल नागरिकको रुपमा रुपान्तरण गर्ने उद्देश्यका साथ ब्रम्हकुमारी राजयोग सेवा केन्द्र सप्तरी र संघीय प्रहरी ईकाइ कार्यालय राजबिराजले सुरु गरेको नौ दिने शिविरको समापनसँगै ख ब्लकमा शिविरको उद्घाटन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र राजयोगिनी भगवती दिदीले संयुक्त रुपमा दिप प्रज्वलन गरी शिविरको उद्घाटन गरे ।
प्रजिअ पौडेलले हरेक मानिसले चुनौतिलाई अवसरका रुपमा लिनु पर्ने बताए । जोसुकैले आफुलाई प्रताडित महसुस गरे पिडा थपिने तर अवसरका रुपमा लिदा सकारात्मक सोंच विकास भई जिवन सहज हुने बताए ।
विश्वव्यापी रुपमा बढ्दै गएको तनावबाट मुक्त भएर सकारात्मक चिन्तन र स्वस्थ जीपनयापन गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको जानकारी दिदै ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी राजयोगिनी भगवती दिदीले योग र चिन्तनको निरन्तर अभ्यासको जरुरी रहेको बताइन् । भगवती दिदीले अनेक प्रकारका तनावबाट मुक्ति पाउनको लागि स्वंको अस्तित्व एवं मानविय मूल्यको जगेर्ना आवश्यक रहेको बताइन् । उनले आध्यात्मिक शान्तिबाट तनाव कम गर्न सकिने धारणा राखिन् ।
बन्दीहरुले जीवनको महत्वपूर्ण शिक्षा प्राप्त भएको भन्दै कठिन परिस्थितीलाई समेत सहज बनाउन योगज्ञान आवश्यक रहेको बताए । कैदीबन्दीहरु मुकेशजंग खडका, हरेन्द्र देव र नेमलाल पासवानले औषधी नै प्रयोग नगरी उपचार हुने विधी जिवनपर्यन्त उपयोगी भएको बताए । उनिहरुले शौचालय, खानेपानी, सञ्चार सुविधामा ध्यान दिन स्थानीय प्रशासनसँग माग समेत गरे ।
जेलर सत्यनारायण यादवको अध्यक्षता एवं प्रहरी निरीक्षक देबेन्द्र दासको सञ्चालनमा आयोजित कार्यक्रममा एसपी मुकेशकुमार सिंह, उप अनुसन्धान अधिकृत देबराज लिम्बु, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाको उपस्थिती रहेको थियो ।
शिविरमा तनावका कारणहरु र न्यूनिकरणको लागि सकारात्मक चिन्तनको महत्व, मानव जिवन र यसको उद्देश्य, अनुशासन, कर्तव्य फलको सिद्धान्त र ध्यान योग बिषयमा एसएसपी प्रजापती र ब्रम्हकुमार दिपक भाईले अभ्यास तथा प्रवचन गर्ने बताइएको छ ।
नौ दिनसम्म विहान दुई घण्टा हुने शिविरमा कारागारका दुई सय ७८ पुरुष कैदी बन्दीहरु सहभागी छन् ।