प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपालको अहिलेको राजनीतिक परिवर्तन र त्यसले स्थापित गरेका मान्यतालाई नबुझेको आभाष भएको छ । निश्चय नै गणतन्त्र नेपालका पहिलो राष्ट्रप्रमुख गिरिजाप्रसाद कोइराला, पहिलो राष्ट्रपति डा रामवरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी वंशजकै आधारमा त्यो सम्मानित पदमा पुगेको होइनन । मुख्य मन्त्रि राउत पनि उनी आफ्ना बुवाआमा वा कोही अन्य परिवारका सदस्य प्रदेश २ को मुख्यमन्त्री भएकाले उनले अहिले उत्तराधिकारीका रुपमा त्यो पद पाएका पक्कै होइनन् ।
तर मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहमा भनिदिए, ‘हाम्रो मुलुकमा बिनाभेदभावपूर्ण कुनै पनि जाति वर्ग र समुदायका मानिस राज्यका सबै तह, तप्का र निकायमा उसको क्षमता र योग्यताका आधारमा पुग्ने सहज अवसर मिलास, जस्तो कि महामहिम तपाईं (नरेन्द्र मोदी) एक सामान्य परिवारको भएर पनि भारतको सर्वोच्च कार्यकारी पदमा विराजमान हुनुहुन्छ ।’
उनको यो भाषणले प्रदेश २ अनि सिंगो नेपालका जनताको शिर उच्च भएको मान्न सकिदैन् । नेपालमा अहिले पनि वंशजका आधारमा शासन सत्तामा पुग्ने पद्दति बाँकी छैन् । नेपालको संविधान र कानुनले कुनै पनि नागरिकलाई देशको सर्वोच्च कार्यकारी पदमा पुग्नबाट रोकेको पनि छैन् । जनताबाट चुनिएर प्रदेशको सर्वोच्च पदमा पुगेका व्यक्तिले यस्ता अभिव्यक्ति दिनु स्वभाविक मान्न सकिदैन् ।
उनको यो अभिव्यक्ति नेपालको सार्वभौमसत्ता र नेपाल सरकारले अहिले अंगिकार गरेको छिमेकी देशसँग बराबरीको सम्बन्धको अवधारणाको विपरित हो । आफैं नेपाल सरकारको एक अभिन्न अंग प्रदेश सरकारको मुख्यमन्त्री हुँदाहुँदै उनले सरकारको अवधारणा विपरीत धारणा राख्नु किमार्थ राम्रो मान्न सकिदैन् । देशभित्र समय, काल फेरिएजस्तै विगतका तिक्ततामा पनि परिवर्तन आएको छ । मुख्यमन्त्रि राउतले आफुले कसरी प्रस्तुत हुने भन्ने कुरा विर्सन प्रदेश २ का लागि शरमको कुरा हो ।
सरकार सञ्चालन लगायतका सबै विषयमा प्रदेश २ का मुख्यमन्त्रीले अमूक देशका प्रधानमन्त्रीभन्दा आफ्नै देशका प्रधानमन्त्रीसमक्ष स्पष्ट कुरा राख्नु उचित हुने छ । देशका मुख्यमन्त्रीले आफ्नो देश, आफ्नो प्रदेश र आफ्ना जनताको एजेन्डाका विषयमा जबरजस्ती भारतलाई तान्न खोज्नु प्रदेश २ कै जनताको जनमतको अपमान हो । यो कुरा मुख्यमन्त्रि राउतले बझ्नु पर्दछ ।