धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशाला परीक्षणको रिपोर्ट वितरणलाई सहज, छरितो र प्रविधिमैत्री बनाउन स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको उक्त मेसिनको सोमबार उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्र लिम्बूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । मेसिन सञ्चालनमा आएसँगै प्रयोगशाला परीक्षणको रिपोर्ट लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार मेसिनबाट रिपोर्ट लिन सेवाग्राहीले प्रयोगशाला परीक्षण गराउँदा प्राप्त गरेको बिलमा रहेको बारकोड मेसिनको सेन्सरमा देखाउनुपर्नेछ । बारकोड स्क्यान भएपछि प्रणालीले सम्बन्धित विवरण पहिचान गरी केही सेकेन्डमै रिपोर्ट प्रिन्ट गर्नेछ । यसबाट सेवाग्राहीले कर्मचारीको सहयोगबिना आफैँ रिपोर्ट प्राप्त गर्न सक्नेछन् ।

प्रतिष्ठानमा दैनिक आउने बिरामीको चापका कारण सेन्ट्रल ल्याबको रिपोर्ट वितरण काउन्टरमा भीड हुने गरेको थियो । रिपोर्ट लिन बिरामी तथा कुरुवाले घण्टौँसम्म लाइनमा बस्नुपर्ने र कर्मचारीलाई समेत रिपोर्ट खोज्न तथा वितरण गर्न कठिनाइ हुने गरेको थियो । स्वचालित प्रणालीले रिपोर्ट वितरणमा लाग्ने समय घटाउनुका साथै काउन्टरको भीड व्यवस्थापनमा सहयोग पुग्ने अस्पताल निर्देशक डा. इन्द्र लिम्बूले जानकारी दिनु भयो ।

नयाँ प्रविधिको प्रयोगबाट रिपोर्ट वितरणमा हुन सक्ने मानवीय त्रुटि न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने जनाइएको छ । बिरामीको चापलाई व्यवस्थित गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले प्रविधि तथा पूर्वाधार विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

अस्पताललाई क्रमशः डिजिटल तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिनुभयो । नयाँ सेवाबाट दैनिक प्रयोगशाला परीक्षण गराउने हजारौँ बिरामी तथा तिनका आफन्त लाभान्वित हुने प्रतिष्ठानको अपेक्षा छ ।

WhatsApp Image 2026-10-12 at 15.02.13 (2)