धरान / भदौ १० को प्राकृतिक विपत्तिले धेरै परिवारलाई शोक र पीडामा धकेल्यो। कसैले आफन्त गुमाए, कसैले घरबार र जीविकोपार्जनको आधार। विपत्तिको घाउमा मलम लगाउन राज्यदेखि विभिन्न संघसंस्था र नागरिक तहबाट सहयोग जुटिरहेका बेला धरानको यु एन नवोदय कलेज पनि मानवीय सहकार्यमा जोडिएको छ।
यु एन नवोदयका विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यालय, प्लस टु, कलेज र व्यवस्थापनको संयुक्त पहलमा १ लाख १२ हजार १ सय ११ रुपैयाँ संकलन गरी सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कलेज प्रशासनले जनाएको छ ।
रकम ठूलो–सानोभन्दा पनि विपत्तिमा आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ संकलन गरिएको कलेजले जनाएको छ। विद्यार्थी र शिक्षक–कर्मचारीले विपत्ति लगत्तै व्यक्तिगत तथा स्वैच्छिक रूपमा राहत र सहयोग गर्दै आएका थिए। त्यसैको निरन्तरताका रूपमा संस्थागत सहयोग गरिएको प्रधानाध्यापक डम्बरकुमार तुम्बापोले बताउनु भयो ।
‘विपत्ति लगत्तै हाम्रा विद्यार्थी र शिक्षक–कर्मचारीहरूले व्यक्तिगत तथा स्वैच्छिक रूपमा राहत र सहयोग गरिरहनुभएको थियो,’ उहाँले भननु भयो, ‘यो संस्थागत रूपमा गरिएको सानो मानवीय प्रयास हो। विपत्तिमा परेका आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीको पीडामा यसले केही मलम लगाउने विश्वास लिएका छौं।’
शिक्षण संस्था भन्नासाथ पाठ्यक्रम, परीक्षा र नतिजा सम्झिने गरिन्छ। तर यु एन नवोदयले शिक्षालाई कक्षाकोठाभित्र मात्र सीमित नराखी विद्यार्थीलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरिएको कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले बताउनु भयो । विद्यार्थीलाई पढाइसँगै मानवीय संवेदना र सामाजिक जिम्मेवारीको बोध गराउनु संस्थाको प्राथमिकतामध्ये एक भएको उहाँले बताउनु भयो ।
‘हामीले शिक्षासँगै विद्यार्थीमा सामाजिक उत्तरदायित्व र मानवीय भावनाको विकास होस् भन्ने उद्देश्य राखेका छौं,’ उहाँले भन्नु भयो, ‘देशलाई संकट पर्दा आफूले सक्ने सहयोग गर्नु पनि शिक्षाकै एउटा महत्वपूर्ण पक्ष हो।’
यु एन नवोदयले यसअघि पनि सामाजिक अभियानमा सहयोग गर्दै आएको जनाएको छ। धरानको कोकाहा खानेपानी अभियानमा सहयोग गरेको संस्थाले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि पनि आर्थिक योगदान गरेको थियो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको १ लाख १२ हजार १ सय ११ रुपैयाँ विपत्तिको विशाल क्षतिको तुलनामा सानो रकम हुन सक्छ। तर शिक्षण संस्थाबाट आएको यो सहयोगले विद्यार्थीलाई समाज र संकटसँग जोड्ने एउटा अभ्यासको सन्देश दिएको संस्थाको बुझाइ छ।
विपद्का बेला राज्यको उद्धार र पुनःस्थापनासँगै नागरिक तथा संस्थागत तहको सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीले सामूहिक रूपमा रकम संकलन गरेर सहयोग गर्दा उनीहरू आफैं पनि सामाजिक सेवाको प्रत्यक्ष अनुभवसँग जोडिन्छन्।
भदौ १० को विपत्तिले दिएको पीडा तत्काल मेटिने अवस्था छैन। प्रभावित परिवारको पुनःस्थापना र क्षतिको पूर्तिमा लामो समय लाग्नेछ। यस्तो अवस्थामा राहतको एउटा सानो प्रयासले तत्कालको आवश्यकता पूरा गर्नुका साथै पीडितप्रति समाज साथमा छ भन्ने भरोसा पनि दिन सक्छ।



















