हङकङ । इलाम समाज हङकङको २५औँ स्थापना दिवस (रजत महोत्सव) को उपलक्ष्यमा आयोजित 'रजत जन्मोत्सव तथा इलाम साँझ-२०२६' शनिवार सम्पन्न भएको छ।

 हङकङस्थित नेपाली समुदायको बाक्लो उपस्थितिमा सांगीतिक माहोल तातिएको थियाे ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अमेरिकाबाट आउनुभएका चर्चित गायक रोशन गुरुङले आफ्नो जादुमयी स्वरमार्फत दर्शकलाई मनाेरञ्जन दिलाउनु भयाे । त्यसैगरी, ‘मेरो भोइस युनिभर्स सिजन-२’ का उपविजेता तथा हङकङकै सुपरिचित कलाकार टोपराज (राज) तामाङको दमदार प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियाे। कार्यक्रममा स्थानीय कलाकारहरू कमल राई, गणेश न्यौपाने लगायतको पनि विशेष प्रस्तुति दिएका थिए ।

लामो समयदेखि नेपाली सुगम संगीतमा सक्रिय रोशन गुरुङका धेरै गीतहरू लोकप्रिय छन्, जसमध्ये केही प्रमुख गीतहरू 'नभन मलाई बाँच्न गाह्रो भो...', 'तिमी हाँस्दा...'कसले भन्छ...'अलिकति तिम्रो...' हुन ।

इलाम समाज हङकङका अध्यक्ष विपिन राई (वसन्त) को अध्यक्षतामा भएकाे यो ऐतिहासिक २५औँ जन्मोत्सव कार्यक्रमले हङकङमा रहेका इलामेली मात्र नभई सम्पूर्ण नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको छ। साेही अवसरमा इलाम समाज हङकङले प्रकाशन गरेकाे  'इलाम' नामक  बुलेटिङकाे विमाेचन गरिएकाे थियाे । इलाम समाज हङकङले आफ्नाे देशकाे लागि विविध सामाजिक कार्य गर्दै आएकाे छ ।