• खगेन्द्र कार्की

सप्तकोसी । सप्तरीको सप्तकोसी नगरपालिकामा रहेको सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ आयोजनाको खाने पानी ट्याङ्की निर्माण कार्य सम्पन्न नभई चुहिन थालेको छ। 

सप्तकोसी नगरपालिका भरी स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता सस्थाद्वारा संचालित कुल ४७ करोड लागतको  ९ लाख लिटर क्षमता भएको खानेपानी  आयोजनाको ट्याङ्की निर्माण कार्य सम्पन्न गरेर उपभोक्ताहरुलाई खानेपानी उपलब्ध नगराइकनै सिपेच भएर चुहिन थालेको हो । ठेकेदारको लापारवाहीले समस्या भएको बताइएको छ ।

सप्तकोसी नगरपालिकाका ११ वटै वडाका ४ हजार ९ सय १७ घरधुरीका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्यले आयोजनाको जम्मा लागत मध्यमा नेपाल सरकारको ७०प्रतिशत नगरबिकास कोषलाई एडिबिको ऋण सहयोग २५ प्रतिशत नगरपालिकाको ३ प्रतिशत र खानेपानी धारा प्रयोग गर्ने उपभोक्ताहरुको २ प्रतिशत लागतमा सन्चालन गर्न लागिएको खानेपानी आयोजनाको  निर्माण कार्यको अन्तिम चरणमा पुगेको थियो । तर हस्तान्तरण अगावै पानी सप्लाइ गर्ने मुख्य ट्याङ्की भने सिपेच भएर चुहिन थालेको छ । खानेपानी उपभोक्ता समितिले धारा जडान गर्न रसिद काटिएका सयौं उपभोक्ताहरुको घरमा धारा जडान गर्न सकेको छैन जोडिएका धारामासमेत पानी नियमित नआएको  र जोडिएका धाराहरुमा पानी छोडिएको बेला चुहिने गरेको स्थानीय उपभोक्ता भानुभक्त भट्टराईले गुनासो गर्नु भएको छ ।

आयोजना निर्माणको लापरबाहीको  कारण खानेपानी ट्याङ्की सिपेच भएर चुहिन थालेको बिषयमा कुरा गर्दा सप्तकोसी शहरी खाने पानी तथा  सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लेखनाथ घिमिरेले ट्याङ्की सामान्य सिपेच भएको भन्दैं ठेकेदारलाई टाल्न लगाउने बताउनु भयो । खानेनेपानी आयोजनाको बिषयमा नगरप्रमुख कृष्णप्रसाद ढकालले भने नगरपालिका यो बिषयमा चिन्तित रहेको र पटक पट्क खानेपानी उपभोक्ता समितिलाई आयोजनाको गतिविधि सार्बजनिक गर्न र ट्याङ्की सिपेच भएको बिषयमा आधिकारिक प्रतिबेदन पेस गर्न निर्देशन दिएको बताउनु भएको छ । उपभोक्ता समितिले आफुखुशी काम  गरिरहेको समेत उहाँले बताउनु भयो । यस विषयमा जानकारी लिइ समस्या समस्या समाधान गरिने नगर प्रमुख ढकालले बताउनु भयो ।