धरान । विराटनगरमा प्रस्तावित पोडवे यातायात प्रणालीलाई रानीदेखि बसपार्कसम्मको सीमित दूरीमा मात्र सञ्चालन नगरी धनकुटाको भेडेटारसम्म विस्तार गर्न उद्योगी–व्यवसायीले सुझाव दिएका छन्। विराटनगरको औद्योगिक क्षेत्र, इटहरी र धरानको सहरी क्षेत्र तथा भेडेटारको पर्यटनलाई एउटै यातायात सञ्जालमा जोड्न सके पोडवे कोशी प्रदेशकै वैकल्पिक यातायात प्रणाली बन्न सक्ने उनीहरूको भनाइ छ।

काठमाडौँ पोडवे कम्पनीले विराटनगरमा पोडवे सञ्चालनका लागि अध्ययन अघि बढाउने तयारी गरेपछि मोरङ उद्योग व्यापार सङ्घको सहजीकरणमा उद्योगी–व्यवसायीसँग प्रारम्भिक छलफल तथा सुझाव सङ्कलन गरिएको हो। छलफलमा परियोजनाको दूरी, लगानी, यात्रु चाप, औद्योगिक उपयोग, पर्यटन र लगानीको प्रतिफलबारे एकीकृत अध्ययन गर्न सुझाव दिइएको छ।

कम्पनीले पहिलो चरणमा विराटनगरको रानीदेखि बसपार्कसम्म करिब सात किलोमिटर दूरीमा पाइलट परियोजना सञ्चालन गर्ने प्रस्ताव गरेको छ। परियोजनाको लागत चारदेखि छ अर्ब रुपियाँको आसपास अनुमान गरिएको छ। कम्पनीका अनुसार रानी–बसपार्क खण्डमा प्रतिकिलोमिटर करिब १० रुपियाँ भाडा प्रस्ताव गरिएको छ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष पवन शारडाले सात किलोमिटरमा मात्र परियोजना सीमित गर्नुभन्दा विराटनगरदेखि भेडेटारसम्मको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्नुपर्ने बताउनुभयो। उहाँले संरचनामा प्रयोग हुने सामग्री सकेसम्म स्वदेशी उत्पादनबाट प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। “निजी क्षेत्रले आफ्नै लगानीमा संरचना निर्माण गरेर लगानी उठाउने हो भने परियोजनाको दूरी र यात्रु सम्भावना सुरुदेखि नै विस्तृत रूपमा हेर्नुपर्छ,” उहाँले भन्नुभयो।

परिसङ्घका पूर्वअध्यक्ष भीम घिमिरेले करिब ५८ किलोमिटरको रानी–भेडेटार खण्डलाई समेटेर डीपीआर तयार गर्न सके पोडवेलाई सहरी यातायातसँगै पर्यटन र क्षेत्रीय आवागमनको माध्यम बनाउन सकिने बताउनुभयो। उहाँले प्रारम्भिक चरणमा धरान–भेडेटार खण्डबाट काम अघि बढाउन सकिने विकल्पसमेत प्रस्तुत गर्नुभयो।

उद्योग र पर्यटन जोड्ने अवसर

मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनिल साहले नयाँ प्रविधिमा आधारित सार्वजनिक यातायात प्रणाली विराटनगरमा भित्र्याउनु सकारात्मक भए पनि परियोजनालाई सात किलोमिटरमा सीमित गरेर ठूलो लगानी गर्न नहुने बताउनुभयो।

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यात्रु ओसारपसारसँगै औद्योगिक कार्गो ढुवानीमा समेत पोडवे प्रयोग गर्ने अवधारणा अघि बढाउन सुझाव दिनुभयो। विराटनगर–मोरङ औद्योगिक क्षेत्रमा उत्पादित वस्तु ढुवानीका लागि छुट्टै कार्गो पोड सञ्चालन गर्न सके परियोजनाको आर्थिक सम्भाव्यता थप बलियो हुने उहाँको भनाइ छ।

विराटनगर–इटहरी–धरान औद्योगिक करिडोरलाई भेडेटारसँग जोड्न सके कामदार, विद्यार्थी, व्यवसायी तथा पर्यटकका लागि एउटै क्षेत्रीय यातायात सञ्जाल विकास गर्न सकिने उद्योगीको भनाइ छ। काठमाडौँ पोडवेका उपाध्यक्ष निलराज भट्टराईले प्रारम्भिक सात किलोमिटर संरचनाको लागत अनुमानभन्दा कम हुन सक्ने बताउनुभयो। उहाँका अनुसार पोडवे निर्माणमा आवश्यक प्रविधि विदेशबाट ल्याउनुपर्ने भए पनि संरचनामा प्रयोग हुने अधिकांश सामग्री स्थानीय उत्पादनबाट प्रयोग गर्ने तयारी छ।

कम्पनीले रानी–धरान करिब ४२ किलोमिटर खण्डको डीपीआर १० महिनाभित्र तयार गर्ने लक्ष्य राखेको छ। डीपीआरपछि प्रक्रियागत कामका लागि थप करिब छ महिना लाग्ने र त्यसपछि पहिलो चरणको सात किलोमिटर संरचना १८ महिनाभित्र निर्माण गर्ने योजना कम्पनीको छ।

विजयपुर–विष्णुपादुका–बराहक्षेत्र जोड्नुपर्ने माग

पोडवेलाई भेडेटारसम्म विस्तार गर्दा धरानको विजयपुर, विष्णुपादुका र बराहक्षेत्रलाई समेत यातायात सञ्जालमा जोड्न सुनसरीका व्यवसायीले सुझाव दिएका छन्। यसबाट कोशी प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई एउटै प्रणालीमार्फत जोड्न सकिने उनीहरूको भनाइ छ।

सुनसरी उद्योग वाणिज्य सङ्घ, धरानका कार्यवाहक अध्यक्ष रामस्वरूप शर्माले सङ्घका तर्फबाट यस्तो प्रस्ताव अघि बढाइसकिएको बताउनुभयो। उहाँका अनुसार यस विषयमा लगानी, सम्भाव्यता र मार्गबारे धरानमा थप छलफल गर्ने तयारी भइरहेको छ। “नेपालजस्तो पहाडी भूभाग धेरै भएको मुलुकमा वैकल्पिक यातायातका रूपमा पोडवे प्रभावकारी हुन सक्छ,” शर्माले भन्नुभयो।

उद्योगी–व्यवसायीले भने पोडवेको सम्भाव्यता प्रविधिको आकर्षणमा मात्र नभई यात्रु सङ्ख्या, भाडादर, सञ्चालन तथा मर्मत खर्च, लगानीको प्रतिफल र दीर्घकालीन आम्दानीका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। यात्रु र कार्गो दुवै सम्भावनालाई डीपीआरमै समेटेर अध्ययन गरे मात्र ठूलो लगानीको दीर्घकालीन औचित्य पुष्टि हुने उनीहरूको भनाइ छ।

पोडवे कसरी चल्छ ? 

पोडवे विद्युतीय ऊर्जाबाट सञ्चालन हुने स्वचालित यातायात प्रणाली हो। यसमा यात्रु वा सामान राखिएको सानो पोडलाई सडकको माथि वा छुट्टै संरचनामा बनाइएको ट्र्याकमा गुडाइन्छ। परम्परागत बसजस्तो सडकमा गुड्ने नभई पोडका लागि छुट्टै मार्ग हुने भएकाले सडकको ट्राफिकसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्दैन।

यस्ता प्रणालीमा पोडलाई विद्युतीय मोटर तथा नियन्त्रण प्रणालीको सहायताले निश्चित मार्गमा सञ्चालन गरिन्छ। यात्रुको मागअनुसार पोडको आवृत्ति बढाउन वा घटाउन सकिने र स्वचालित सञ्चालनका कारण चालकमा निर्भरता कम हुने यसको विशेषता हो। पोडवेमा यात्रुसँगै निश्चित प्रकृतिको सामान वा कार्गो ढुवानीको सम्भावनासमेत रहने भएकाले उद्योगीले औद्योगिक उपयोगको विषयलाई डीपीआरमै समेट्न आग्रह गरेका छन्।

नेपालमा पोडवेको सम्भाव्यता

नेपालको भौगोलिक बनावट, सहरी पूर्वाधार र ऊर्जा स्थिति हेर्दा पोडवे प्रणालीको सम्भाव्यता निकै उच्च देखिन्छ । नेपालका डाँडाकाँडा र भिरालो भूगोलमा ठूला सडक वा रेलमार्ग बनाउन अर्बौँ खर्च हुन्छ र पहिरोको जोखिम रहन्छ। पोडवेका खम्बाहरू कम ठाउँमै गाड्न सकिने भएकाले पहाडी इलाकामा यो निकै उपयुक्त हुन्छ।

काठमाडौँ, पोखरा, विराटनगर, वा धरानजस्ता घना बस्ती भएका सहरहरूमा सडक विस्तार गर्न जग्गा प्राप्ति मुख्य समस्या हो। पोडवे जमिनभन्दा माथि चल्ने भएकाले सडकको जग्गा अधिग्रहण नगरी ट्राफिक जाम घटाउन सकिन्छ।

नेपालमा उत्पादित बिजुलीको प्रयोग गरी पोडवे चलाउन सकिन्छ, जसले गर्दा विदेशी पेट्रेलियम पदार्थको आयात र निर्भरता घट्छ। मेट्रो रेल वा ठूला सडक पूर्वाधारको तुलनामा पोडवे निर्माणको लागत निकै कम हुन्छ। यसका पोल र ट्रयाकहरू कारखानामै तयार पारी छिटो जडान गर्न सकिन्छ। यस्तै यसले धुवाँ(धुलो र ध्वनि प्रदूषण गर्दैन, जसले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ।

नगरकोट, चन्द्रागिरि, पोखराका सराङकोट वा अन्य पर्यटकीय स्थलहरूमा पोडवे सञ्चालन गर्न सके पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्छ। यात्रुले प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै सुरक्षित यात्रा गर्न सक्छन्।

नेपालजस्तो भूपरिवेष्ठित र पहाडी भूगोल भएको देशमा ठुला रेल वा फराकिला सडकको विकल्पका रूपमा पोडवे एक दिगो, आधुनिक र वातावरणमैत्री यातायात माध्यम बन्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।