काठमाडौँ / धरानको समग्र विकास निर्माण, सर्दु जलाधार क्षेत्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या, सुरक्षा निकायका भवन निर्माण तथा भौतिक पूर्वाधारका अधुरा आयोजनाहरूलाई अगाडि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिको टोली राजधानी काठमाडौँ आइपुगेको छ।
नगर समिति सभापति सुमन श्रेष्ठ र प्रतिनिधि सभा सदस्य श्रृजना श्रेष्ठको नेतृत्वमा आएको नौ सदस्यीय टोलीले सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा पार्टी नेतृत्वसँग भेटघाट गरी धरानका समस्याबारे गम्भीर ध्यानाकर्षण गराएको छ।
टोलीले सर्दु जलाधार क्षेत्रको नाममा विगत पाँच वर्षदेखि रोक्का रहेको जलाधार बाहिरका सर्वसाधारणको जमिन फुकुवा गराउने विषयमा सर्वोच्च अदालतका महान्यायाधिवक्ता तथा सम्बन्धित शाखाका अधिकारीहरूसँग छलफल गरेको छ। जग्गा फुकुवामा भइरहेको ढिलाइबारे गरिएको सोधपुछमा महान्यायाधिवक्ताले अदालतबाट फैसला भइसकेकाले यथाशीघ्र पूर्णपाठ तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभएको टोलीले जनाएको छ।
नगर उपसभापति राम कार्कीका अनुसार रास्वपा टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निता मेहतासँग भेट गरी बीपी प्रतिष्ठानमा एमआरआई मेसिन खरिद, स्वास्थ्य बिमाको सहज पहुँच, धरान नगर अस्पतालको स्तरोन्नति, बीपीमा विद्यार्थीको कोटा वृद्धि तथा क्यान्सर रोगका लागि रेडिएसन थेरापी र मिर्गौला प्रत्यारोपण ९किडनी ट्रान्सप्लान्ट० सेवा थप गर्न मागपत्र पेस गरेको छ। नगर सभापति श्रेष्ठका अनुसार सडक, ढल निर्माण, पर्यटन र उद्योग प्रवर्धनसहित धरानका ४२ वटा विकास निर्माणका योजना समेटेर मन्त्रालयमा ध्यानाकर्षण गराइएको छ।
यस्तै, गृहमन्त्री सदन गुरुङसँगको भेटमा इलाका प्रहरी कार्यालय धरानको आफ्नै जमिन र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको स्थायी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनेबारे छलफल भएको छ। भेटघाटमा गृहमन्त्रीबाट सकारात्मक प्रतिबद्धता आएको र छिट्टै दुवै निकायका लागि जग्गा उपलब्ध हुने सांसद श्रृजना श्रेष्ठले बताउनुभयो।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!