अमेरिका, नर्थ क्यारोलिना  / मातृभूमिबाट हजारौँ किलोमिटर टाढा अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गरिरहेका नेपालीका लागि दसैँ केवल परिवारसँग टीका र जमरा लगाउने पर्वमा सीमित छैन। नेपाली भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने माध्यम पनि बनेको छ—आरटीपी दसैँ खसी कप फुटबल प्रतियोगिता।

नर्थ क्यारोलिनाको एपेक्स नेचर पार्क स्टेडियममा सुरु भएको प्रतियोगिताले दसैँको पूर्वसन्ध्यामा प्रवासमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोडेको छ। हरेक सप्ताहान्त खेल हुने गरी एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा १० नेपाली टोली सहभागी छन्।

रिसर्च ट्रयाङ्गल पार्क ९आरटीपी०को नामबाट आयोजना हुँदै आएको प्रतियोगिता अमेरिकामा रहेका नेपालीबीच आपसी भाइचारा, सामाजिक सद्भाव र सम्बन्ध विस्तार गर्ने माध्यम बन्दै गएको आयोजकको भनाइ छ। प्रतियोगिता विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको आयोजक समितिका सदस्य टंक सेलिङले बताउनुभयो।

“मातृभूमिभन्दा धेरै टाढा भए पनि मन त नेपाली नै हो। चाडपर्व नजिकिँदा परिवार र आफन्तको मात्र होइन, हामीले पुस्तौँदेखि मान्दै आएका संस्कृति र परम्पराको पनि सम्झना आउँछ,” सेलिङले भन्नुभयो, “नयाँ पुस्तालाई पनि दसैँ, तिहार, चासोक तङनाम, साकेला, ल्होसारलगायत नेपाली सांस्कृतिक पर्वसँग जोड्न दसैँ खसी कपलाई माध्यम बनाएका हौँ।”

सेप्टेम्बर १८ देखि सुरु भएको प्रतियोगितामा चियाबारी एफसी, दुर्गा एफसी, माछापुच्छ्रे एफसी र राइनो एफसी सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको फाइनल अक्टोबर १० मा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसँगै ३० किलोको खसी र पदक प्राप्त गर्नेछ। नेपाली परम्परामा दसैँमा खसीको विशेष महत्व रहेकाले प्रतियोगिताको पुरस्कारसमेत त्यसैसँग जोडिएको आयोजकको भनाइ छ।

टिम चियाबारीका कप्तान मोहन सापकोटाका लागि प्रतियोगिता फुटबलको प्रतिस्पर्धा मात्र होइन, प्रवासमा नेपाली समुदायलाई जोड्ने अवसर पनि हो।

“यसले नेपाली डायस्पोराबीच आपसी सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्न सहयोग गरेको छ,” उहाँले भन्नुभयो, “फुटबलको माध्यमबाट नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्व अझ बलियो भइरहेको छ।”

अमेरिकामा हुर्किरहेका नेपाली बालबालिका तथा दोस्रो पुस्ताका युवालाई आफ्नो भाषा, संस्कृति र चाडपर्वसँग जोड्ने चुनौती प्रवासी नेपाली समुदायका लागि उत्तिकै महत्वपूर्ण विषय बनेको छ। आरटीपी दसैँ कपले खेलकुदसँगै यही सांस्कृतिक आवश्यकता पूरा गर्ने प्रयास गरेको आयोजक बताउँछन्।

प्रतियोगिताका खेलाडी भूपाल कोइरालाका अनुसार आरटीपी दसैँ कप क्रमशः सबै नेपालीको साझा कार्यक्रमका रूपमा विकास हुँदै गएको छ। उहाँका अनुसार प्रतियोगिताले नयाँ पुस्तालाई नेपाली समुदाय र संस्कृतिसँग जोड्ने साझा मञ्चसमेत निर्माण गरेको छ।

आयोजक सदस्य विकास सापकोटाले अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। “खेलकुदले समुदायलाई नजिक ल्याउँछ। त्यसमा दसैँजस्तो सांस्कृतिक पर्व जोडिँदा यसको महत्व अझ बढ्छ,” उहाँले भन्नुभयो।

यस वर्षको प्रतियोगिता सम्पन्न गर्न टंक सेलिङ, विकास सापकोटासहित जीवन न्यौपाने, दीप रिशाल, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजक समितिमा छन्।

परदेशको व्यस्त जीवन, फरक भूगोल र फरक संस्कृतिको बीचमा पनि नेपाली समुदायले दसैँलाई आफ्नै शैलीमा निरन्तरता दिइरहेको छ।