धरान /  सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१र८२ मा एक करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ खुद नाफा गरेको छ।

शनिबार सम्पन्न संस्थाको १४औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा सहकारीले चार अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७२४ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ।

संस्थाको शेयर पुँजी २८ प्रतिशतले वृद्धि भई सात करोड ४९ लाख ७४ हजार ४०० रुपैयाँ पुगेको छ। शेयर सदस्यको सङ्ख्या पनि बढेर आठ हजार ७२८ पुगेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीले सो अवधिमा सात करोड ८७ लाख ४९ हजार १५० रुपैयाँ आम्दानी गरेको थियो भने छ करोड ३८ लाख ७५ हजार ९२४ रुपैयाँ खर्च भएको जनाइएको छ। आयकर, ब्याजकर, घरबहाल कर र सामाजिक सुरक्षा करलगायत विभिन्न शीर्षकमा ४२ लाख ४३ हजार ७०० रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको सहकारीले जनाएको छ।

साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीतबहादुर राउतले एक वर्षको अवधिमा बचत ४० प्रतिशत, ऋण लगानी १२८ प्रतिशत र ऋण असुली ११० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो।

धरान–१० सैनिक चोकमा मुख्य कार्यालय रहेको सहकारीले धरान–५ देउराली, इटहरी र बराहक्षेत्रको चक्रघट्टीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ।

लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक देवचन्द्र शिवाकोटीले संस्थाले कर्जा जोखिम कोषलाई नियमित रूपमा वृद्धि गर्दै लगेको जानकारी दिनुभयो। उहाँका अनुसार एक जना सदस्यलाई बढीमा एक करोड रुपैयाँसम्म कर्जा लगानी गरिएको छ।

संस्थाको पुँजी तथा दायित्व ३६ दशमलव ३८ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै शिवाकोटीले वित्तीय लक्ष्य तथा कार्यक्रममा उल्लेख्य प्रगति भएको बताउनुभयो। संस्थाले गत आर्थिक वर्षमा एक करोड ५९ लाख ६५ हजार ८९३ रुपैयाँ नाफा गरेकोमा चालु आर्थिक वर्षमा एक करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ नाफा गरेको प्रतिवेदनमा उल्लेख छ।

साधारणसभाका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले नियमविपरीत कारोबार गरेका कारण धरानका कतिपय सहकारी समस्या परेको बताउनुभयो। उहाँले उद्यमशील सहकारीले मितव्ययी र नियमसङ्गत ढङ्गले कारोबार सञ्चालन गरेको भन्दै संस्थाले देखाएको वित्तीय अवस्थाले यसको पुष्टि गरेको बताउनुभयो।

उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित गर्न सहकारी नियमावली निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले कार्यपालिका बैठकबाट नियमावली तयार गर्ने काम अघि बढ्ने बताउनुभयो।

सहकारी धरान नगर समन्वय समितिका अध्यक्ष नवीन सुब्बाले उद्यमशील बचत तथा ऋण सहकारी धरानका सहकारीमध्ये नमुना संस्थाका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।

कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान–१० का वडाध्यक्ष विवेक राई र धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूलगायतले सहकारीको भूमिका र वित्तीय अनुशासनबारे धारणा राख्नुभएको थियो।

साधारणसभाका अवसरमा असल तथा नियमित बचतकर्ता, ऋणी, सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। सोही अवसरमा पत्रकार शेखरनाथ योगीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।