धरान । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४ सय ५८ प्रहरी जनशक्ति परिचालन गरी विशेष सुरक्षा योजना–२०८३ कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी र सीमा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न केन्द्रीय तहदेखि प्रदेशस्तरसम्म एकीकृत सुरक्षा व्यवस्था मिलाइएको हो।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार नागरिकको सहज आवागमन, धार्मिक तथा सांस्कृतिक स्थलको सुरक्षा र जनधनको संरक्षणलाई केन्द्रमा राखेर सुरक्षा ढाँचा तयार पारिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेशमा व्यापक प्रहरी परिचालन गरिएको छ।प्रदेशगत विवरण अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा ८ हजार १ सय ३३ प्रहरी खटाइएको छ। यस्तै मधेशमा ७ हजार २ सय ३०, लुम्बिनीमा ७ हजार ९ सय २१, कर्णालीमा ५ हजार ३ १४, गण्डकीमा ५ हजार १ सय ८८, सुदूरपश्चिममा ४ हजार ५ सय ५ र बागमतीमा ४ हजार ४ सय ९९ जनशक्ति परिचालन गरिएको छ। काठमाडौँ उपत्यकामा मात्रै ७ हजार ६ सय ६८ प्रहरी खटाइएको छ।४०८ यात्रु सहायता कक्ष, लामो दूरीका सवारीमा कडा जाँचसार्वजनिक यातायातमा यात्रुको अत्यधिक चापलाई ध्यानमा राख्दै देशभर ४ सय ८ यात्रु सहायता कक्ष स्थापना गरी १ हजार १ सय ६५ प्रहरी परिचालन गरिएको छ। सहायता कक्षले यात्रुलाई सूचना तथा सहयोग उपलब्ध गराउने, हराएका सामान र व्यक्तिको समन्वय गर्ने तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा दिनेछ।
उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनमा चालकको अनुमतिपत्र, मापसेरलापसे, सिट क्षमता, दुई चालकको व्यवस्था र यान्त्रिक परीक्षण प्रमाणपत्रको अनिवार्य जाँच सुरु गरिएको छ।सीमा नाकामा प्रविधिसहित कडा निगरानीअन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी ७ सय ५ प्रहरी परिचालन गरिएको छ। अवैध हातहतियार, पटका र लागूऔषध ओसारपसार रोक्न पैदल, मोबाइल, ग्रामीण र लोकमार्ग क्रस पेट्रोलिङ बढाइएको छ।यस पटक सुरक्षा व्यवस्थापनमा सीसीटीभी, बडी–वर्न क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर र सामाजिक सञ्जाल अनुगमनलाई समेत जोड दिइएको छ। मुख्य बजार, बैंकिङ क्षेत्र, सपिङ मल र सुनचाँदी कारोबार हुने स्थानलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।
डिजिटल माध्यमबाट हुने बैंकिङ ठगी, लटरी र फिसिङ रोक्न विशेष निगरानी बढाउँदै प्रहरीले ओटीपी, पिन वा पासवर्ड कसैलाई नदिन र घर खाली रहेको सूचना सामाजिक सञ्जालमा नराख्न नागरिकलाई अपिल गरेको छ।कोशीका १४ वटै जिल्लामा उच्च सतर्कताकेन्द्रको निर्देशन अनुसार कोशी प्रदेश प्रहरी कार्यालयले पनि १४ वटै जिल्लामा ८ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा मैदानमा उतारेको छ।कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले चाडपर्वका नाममा हुने जुवातास, कालोबजारी, अवैध मदिरा र आपराधिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिइएको बताए।प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी सुमन तिम्सिनाका अनुसार प्रदेशभर २४ सै घण्टा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट र क्विक रेस्पोन्स टोली परिचालन गरिएको छ।
कोशी प्रदेशको जनशक्ति व्यवस्थापन तालिका
| ड्युटीको प्रकार / क्षेत्र | खटाइएको जनशक्ति |
| मोबाइल गस्ती | १,४८५ जना |
| पैदल गस्ती | १,१७८ जना |
| पिकेट ड्युटी | १,०१३ जना |
| ट्राफिकसहितको संयुक्त चेकिङ | ५७५ जना |
| कमान्ड पोस्ट र क्विक रेस्पोन्स टोली (QRT) | ५०७ जना |
| बैंक, वित्तीय तथा आर्थिक क्षेत्र सुरक्षा | ४८२ जना |
| पालोपहरा तथा कार्यालय सुरक्षा | ३८३ जना |
| सादा पोसाकका प्रहरी | ३४८ जना |
| राजमार्ग स्कर्टिङ | २७४ जना |
| धार्मिक तथा पर्यटकीय स्थल | २१३ जना |
| बजार अनुगमन टोली | १९२ जना |
| र्यापिड रेस्पोन्स भेइकल (RRV) | १६२ जना |
| सीमा नाका सुरक्षा | १५५ जना |
| प्रदेशस्तरीय अनुगमन टोली | १४९ जना |
| यात्रु सहायता कक्ष (Help Desk) | १०४ जना |
| विपद् व्यवस्थापन टोली | ७६ जना |
| तालिमप्राप्त कुकुरसहितको चेकिङ | १० जना |
स्राेत: काेशी प्रदेश प्रहरी कार्यालय, विराटनगर




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!